नवलपुर/ नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ गण्डकीले रासायनिक मलको मुल्यवृद्धि र अनुदान कटौतीको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघको गण्डकी प्रदेश कमिटिले नवलपुरस्थित एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघका केन्द्रीय सचिव एवं प्रदेश कमिटिका अध्यक्ष गोवद्र्धन गौलीले रासायनिक मलमा दिदै आएको अनुदान कटौति र मूल्यवृद्धि समेतले किसानलाई परेको दोहोरो मारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । गण्डकी प्रदेशमै कृषि क्षेत्रको महत्वपूर्ण जिल्ला भएकाले पनि नवलपुरबाटै आन्दोलनको घोषणा गरिएको बताए । उनले चैत ७ गते नवलपुरमै राजमार्ग बन्द गरी विरोध गर्ने बताए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा सरकारले गरेको मूल्यवृद्धि र अनुदान कटौतीको निर्णय फिर्ता नलिए स्थानीय स्तरसम्म धर्ना, जुलुस, कोणसभा, आमसभा लगायतका दवावमूलक कार्यक्रमलाई निरन्तर दिइने उल्लेख गरिएको छ ।
एमाले जिल्ला कमिटी नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले महासंघले उठाएको सवाल सवै कृषकको साझा विषय भएकाले राजनैतिक आग्रह–पुर्वाग्रहभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताए ।
पार्टी कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन लगत्तै कालो ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेर महासंघ जिल्ला कमिटि नवलपुरले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ ।
गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा चैत ५ गते ज्ञापन पत्र बुझाएर सोही दिन साँझ ५ वजे एघारै जिल्लामा मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।सरकारले फागुन २६ गते रासायनिक मलमा दिदै आएको अनुदानमा कटौती र मलको मुल्यमा वृद्धि भएको सार्वजनिक गरेको हो । यसअधि किसानले प्रति केजी १४ रुपैयामा खरिद गर्दै आएको युरियाको २५, ४३ रुपैयाको डिएपी ५० र ३१ रूपैयाको पोटास ४० रूपैया तोकेको छ ।





