बागलुङ/ काठेखोला गाउँपालिका बागलुङले आन्तरिक राजश्व बृद्धि गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो आठ महिनामा राजश्व संकलनको लक्ष भेटाएको हो । चालु आर्थिक बर्षमा ४० लाख राजश्व संकलनको लक्ष राखेको गाउँपालिकाले पहिलो दोस्रो चौमासिकसम्म २९ लाख २८ हजार १ सय ७३ रुपैयाँ राजश्व संकलन गरेको छ ।
बार्षिक लक्ष्य पूरा गर्न अब ७१ हजार ८ सय २७ रुपैयाँ आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताए । बार्षिक लक्ष पुरा गर्न चैत महिनामा उठ्ने राजश्वले नै पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ५० शिर्षकबाट राजश्व संकलन गर्ने गरेको छ । सिफारिसबाट मात्रै १९ लाख ५५ हजार रुपैयाँ २९८ रुपैयाँ संकलन भएको छ ।
बिदेशमा उच्च शिक्षा अध्ययनका लागि जानेहरुले गराउने सम्पत्ति मुल्यांकन शिर्षक समेत सिफारिसमा पर्ने भएकाले सबैभन्दा धेरै राजश्व संकलन हुने शिर्षक बनेको हो । सम्पति करबाट ३ लाख १९ हजार २ सय १०, मलपोत र भूमि करबाट ३ लाख १० हजार ७ सय ३५, घरबहाल करबाट ३ लाख ४१ हजार ४ सय र घटना दर्ता सिफारिसबाट २ लाख ३४ हजार रुपैयाँ संकलन भएको छ ।
निरन्तर अनुगमन र पारदर्शिताले समय अगावै राजश्वको लक्षमा पुगिएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले बताए । थापाका अनुसार कार्यालयले नियमित रुपमा राजश्वको विवरण अध्यावधिक गर्ने र वडा कार्यालयबाट दैनिक जानकारी लिने गरेको छ । चालु आर्थिक बर्षको अन्त्यसम्म करिब ६० लाख राजश्व संकलन हुने थापाको विश्वास छ ।
‘राजश्व बृद्धिले गाउँपालिकाबासी सबैलाई उत्साहित गर्छ’ थापा भन्छन् ‘अझै कयौं शिर्षकहरु हामीले दायरामा ल्याउन सकेका छैनौं, छिटै स्रोतहरुको पहिचान गर्छौं ।’ अझै पनि धेरै उद्योग तथा व्यवसायहरु करको दायरामा नआएको थापाले बताए ।
सबैभन्दा बढि राजश्व संकलन गर्ने वडालाई पुरस्कृत गर्ने, राजश्वको आधारमा बजेट बाँडफाँड गर्ने लगायतका रणनीति बनाएर काम गर्ने थापाको भनाई छ । पालिकाले अघिल्लो आर्थिक बर्षमा ४४ लाख ९३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।





