बागलुङ/ बैंक, लघुबित्त र सहकारीमा सर्वसाधारणले आशंका गर्न थालेपछि बागलुङमा बित्तिय साक्षरतामा उभार आएको छ । यहाँका बैंक तथा सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्य र सेवाग्राही तथा युवा पुस्तालाई बित्तिय साक्षरता दिन थालेका हुन् ।
नेपाल बैंक लि. बागलुङ शाखाले काठेखोला गाउँपालिकाको बिहुँमा पुगेर बिद्यालयमा अध्ययनरत विद्यार्थीबीच बित्तिय साक्षरता कक्षा सञ्चालन गरेको छ ।
युवाहरु बीच वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक अमृत सेवाले बताए । विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल बैंकले प्रदान गर्ने सेवा, महत्व, पैसाको महत्व, बचत तथा कर्जा, बैंकिङले प्रदान गर्ने सेवा सुविधा र तिनको प्रयोग, पैसाको सुरक्षा र उपयोगबारे जानकारी गराईएको सेवाले जानकारी दिए । प्रविधिको विस्तारसँगै बैंकिङ सेवाहरू डिजिटल माध्यमबाट प्रवाह हुन थालेकाले यसको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा सहभागीलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
निजी क्षेत्रले सञ्चालन गरेका बैंकहरुले पनि बित्तिय साक्षरता कक्षा सञ्चालन गर्न थालेका छन् । सनराइज बैंक लि. बागलुङ शाखाले विद्यामन्दिर माविका कक्षा १२ मा अध्ययरत विद्यार्थीलाई वित्तीय साक्षरता कक्षा दिएको छ ।
यस्तै, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा सञ्चालित गुहेली युनिक सञ्चार सहकारी संस्थाले केही दिनअघि काठेखोला गाउँपालिका–२ भीमापोखरामा आफ्ना शेयर सदस्यहरुका लागि बित्तिय साक्षरता सञ्चालन गरेको थियो ।
सदरमुकाम र गाउँका अधिकांश सहकारीले बित्तिय साक्षरताको योजना बनाएका छन् । संस्थाको बास्तविक अवस्था, संकटसँग जुध्ने आर्थिक कला सिक्नका लागि समेत कक्षा महत्वपूर्ण हुने दुग्ध उत्पादक सहकारी महासंघका केन्द्रिय सदस्य दिपक गौतमले बताए ।





