बागलुङ / आफ्ना शेयर सदस्यहरुलाई सहकारीको वहुआयमिक विषयमा जानकारी दिने उदेश्यले प्रगति वहुउदेश्यीय सहकारी संस्थाले अभियानकै रुपमा सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम अगाडि बढाएको छ ।
शेयर सदस्य लक्षित गरेर बागलुङ नगरपालिकामा दुई वटा साक्षरता कक्षा सञ्चालन गरेको सहकारीले शनिवार काठेखोला गाउँपालिका-२ भीमापोखरामा सहकारी शिक्षा तथा वित्तिय साक्षरता कक्षा सञ्चालन गरेको छ ।
भीमापोखरा सेवा केन्द्रभित्रका शेयर सदस्यहरुलाई सहभागी गराएर उक्त कक्षा सञ्चालन गरिएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार) ले वताए ।
साक्षरता कक्षाको उदघाटन गर्दै वडाध्यक्ष विद्यापति शर्माले शेयर सदस्यहरुको क्षमता अभिवृद्धि र सहकारी वारेको अवधारणा सजिलो गरी वुझ्नका लागि सहकारी शिक्षा र साक्षरता कक्षा प्रभावकारी हुने वताए । उनले सवै शेयर सदस्यहरुलाई सहकारीमा जोडिएर उत्पादनमुखी काममा जोडिन आग्रह समेत गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक युवराज त्रिपाठीले वित्तिय साक्षरता विषयमा प्रशिक्षण दिए । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले प्रगति सहकारीका गतिविधि, कार्यक्रम र योजनाका वारेमा जानकारी दिदै संस्थाको अवस्थाको वारेमा वताए ।
संस्थाका उपाध्यक्ष तोयानाथ गौतमले सहकारीको वारेमा जानकारी दिएका थिए । साक्षरता कार्यक्रमको सञ्चालन सहसचिव बालकृष्ण शर्माले गरेका थिए । कार्यक्रममा १३५ जना शेयर सदस्यको सहभागिता रहेको प्रबन्धक मुना शर्माले जानकारी दिईन ।





