बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अङ्ग्रेजी माध्यमको नमुना विद्यालय सञ्चालन गर्दै पैयुँ गाउँपालिका

अङ्ग्रेजी माध्यमको नमुना विद्यालय सञ्चालन गर्दै पैयुँ गाउँपालिका


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७९, आइतबार

पर्वत/ जिल्लाको पैयुँ गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८० सालमा गाउँपालिकाभित्रको कुनै एक विद्यालयलाई अङ्ग्रेजी माध्यमको नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने भएको छ ।

अङ्ग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीहरूको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले बताए। वैदेशिक यात्रादेखि देशभित्रका रोजगारीका अवसरमा पनि अङ्ग्रेजी भाषा जान्नेहरुले प्राथमिकता पाउँदा अभिभावकहरूले अङ्ग्रेजी माध्यमको शिक्षा खोजिरहेका छन् । अङ्ग्रेजीको खोजीकै लागि विद्यार्थीहरू निजी विद्यालयमा आकर्षित भइरहेको तथा कतिपय अभिभावकहरू सन्तानलाई पढाउनकै लागि गाउँ छोडेर सहर बसिरहेको अवस्थामा गाउँपालिकाले यो अभ्यास थालेको हो ।

‘अङ्ग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीको आकर्षण छ। अङ्ग्रेजी माध्यमको सिकाइका लागि भन्दै बजारमा बस्ने र निजी विद्यालयमा सन्तानलाई पढाउने गरेको त देखिएकै छ’, प्रमुख प्रशासकीय अधिकृत लामिछाने भन्छन्, ‘हाम्रो ध्येय भनेको सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय, जनअपेक्षा अनुसारको र प्रतिस्पर्धी बनाउने हो। हाम्रो उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सकोस् भन्ने हाम्रो चाहना हो ।’

नयाँ शैक्षिक सत्रमा गाउँपालिकाभित्र रहेका सबै विद्यालयहरूले कक्षा नर्सरी, केजी र एकमा अनिवार्य रूपमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था मिलाउने र स्थानीय तहभित्रको कुनै एक विद्यालयमा कक्षा दुई देखी नौ सम्म नै अङ्ग्रेजी माध्यमबाट नमुनाको रूपमा पठनपाठन सुरु गर्ने उनले बताए ।

गाउँपालिकाभित्र आठ वटा माध्यमिक विद्यालयहरू सञ्चालनमा रहेका छन्। नौ कक्षासम्म अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने गरी ती विद्यालयहरूबाट प्रस्तावनाको आह्वान गरिएको छ। इच्छुक विद्यालयबाट प्रस्तावनाहरू प्राप्त विद्यालयको भौगोलिक अवस्था, पूर्वाधारको अवस्थाको बारेमा गाउँपालिकाले अध्ययन गर्ने छ। सम्भावित विद्यालयमा रहेको स्रोत र पूर्वाधारको बारेमा मूल्याङ्कन गरेर विद्यालय छनोट गर्ने तयारी छ ।

जनशक्ति थप गर्नुपर्ने अवस्था भयो भने विद्यार्थी सङ्ख्या कम भएका अन्य विद्यालयबाट शिक्षकलाई त्यो विद्यालयमा लैजाने तयारी गाउँपालिकाले गरेको छ । भइरहेकै शिक्षकबाट व्यवस्थापन जनशक्ति व्यवस्थापन हुने भएकाले यसमा खर्च नहुने लामिछानेले बताए । नयाँ ठुलो भौतिक संरचना निर्माण गर्ने भन्ने योजना पनि नभएको तर कक्षाकोठा अपुग हुने भएमा पार्टेसन गर्ने र फर्निचर थप्नुपर्ने भएमा त्यसमा भने गाउँपालिकाले लगानी गर्ने छ । छनोट हुने विद्यालयको भौतिक संरचनाको अवस्था कस्तो छ त्यही अनुसारको खर्च आउने छ ।

गाउँपालिकाले यसअघि नै अबको शैक्षिक सत्रबाट जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबैका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति पास गरिसकेको छ । यसको कार्यान्वयनका लागि विभिन्न चरणमा छलफल, परामर्श र तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज) बताउँछन् । एक कक्षासम्मको शिक्षण अङ्ग्रेजी माध्यमको हुनु, नौ कक्षासम्मको कुनै एक विद्यालय नमुनाका रूपमा अङ्ग्रेजी माध्यममा चल्नु र जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबैका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना जस्ता निर्णयले गाउँपालिकामा शैक्षिक गुणस्तर कायम हुने उनको भनाई छ ।

‘हामीले राज्यबाट तलब भत्ता लिएका छौँ । जागिर सरकारी नै खोजिरहेका छौँ । तर हामी हाम्रै विद्यालयहरूलाई विश्वास गरिरहेका छैनौँ। आफूले सामुदायिक विद्यालयमा पढाउने बच्चालाई निजीमा राख्नुले केही शोभा दिन्छ ? हामीले आफैले आफैलाई विश्वास किन नगर्ने ?,’ अध्यक्ष मल्लले भने, ‘आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउनको लागि अहिले नै निर्णय गरेका हौँ ।’

सामुदायिक विद्यालयमा जनताको विश्वास बढ्न सके मात्रै गरिब परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिल्ने र त्यसले गाउँपालिकाको शैक्षिक गुणस्तरलाई वर्तमान अवस्थाबाट माथि उठाउने लक्ष्य गाउँपालिकाले लिएको छ । गाउँपालिकामा भएको बैठकले नै यदि आगामी शैक्षिक सत्रबाट जनप्रतिनिधि वा कर्मचारीले सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना नगरेमा उनीहरूले राज्यको तर्फबाट पाउने तलब, भत्ता वा अरू केही सुविधामा कटौती गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->