मुस्ताङ / महिलाहरुको नेतृत्व क्षमता विकास गर्ने उदेश्यले जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले वडा नं. ५ फल्याक र ढाकरझोङका महिलाहरुलाई नेतृत्व विकास तालिम दिएको छ । गाउँपालिकाको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ४ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको हो ।
तालिम समापनको अवसरमा मन्तब्य राख्दै गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले महिलाहरुलाई अगाडि बढाउन र उनीहरुको क्षमता अभिवृद्धिका लागि तालिम निकै प्रभावकारी भएको र महिलाहरुमा आत्मविश्वास वृद्धि भएको वताए । अध्यक्ष गुरुङले महिलाहरुलाई सामाजिक मुलधारमा ल्याउन पनि तालिम प्रभावकारी र सहयोगी हुने वताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीत वहादुर रानाले मुस्ताङका महिलाहरुले घरको चुल्हो चौका छाडेर तालिममा सहभागी भई निर्धक्क भएर बोलेको देख्दा आफुलाई खुशी लागेको बताउदै पालिकाले यस किसिमका तालिमहरु आगामी दिनमा पनि सञ्चालन गर्दै जाने वताए ।
तालिममा फल्याक र ढाकरझोङका ३० जना महिलाहरुको सहभागिता रहेको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख ललिता पौडेलले बताईन । तालिमको सहजीकरण सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले गरेका थिए ।
गाउँपालिकाका उपाध्यक्ष दिकी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले सहभागी र अतिथि सवैलाई धन्यवाद दिएका थिए ।





