पोखरा / आज सहकारी दिवस । २०१३ समाल चैत २० गते बखान सहकारी संस्था दर्ता भएको दिनलाई सहकारी दिवसको रुपमा मनाइन्छ । यो वर्ष ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ ।
सहकारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै गण्डकीकी अर्थमन्त्री सीताकुमारी सुन्दासले सहकारीहरुले आर्थिक र सामजिक विकासमा महत्वपूर्ण योगदान दिएको बताएकी छन् । उनले नेपाल जस्तो विकासशील मुलुकमा दीगो विकासका लक्ष्यहरु पूरा गर्ने बलियो माध्यम सहकारी भएको जिकिर पनि गरेकी छन् ।
पछिल्लो समय तरलता अभावले सहकारीमा समस्या देखिएको उल्लेख गर्दै उनले आतरलता अभावले सहकारी क्षेत्रमा संकट देखिएको बताउँदै सहकारीका सदस्यको वचतको सुरक्षाको लागि प्रतिवद्ध र जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।
अर्थमन्त्री सीताकुमारी सुन्दासले दिनु भएको शुभकामनाको पूर्णपाठ :
‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने नाराका साथ नेपालको सहकारी आन्दोलनले ६६ वर्ष प्रवेश गरेको सुखद अवसरमा म सम्पूर्ण सहकारी अभियन्ताहरुलाई ६६औं सहकारी दिवस मनाउन लागेकोमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपालको पहिलो सहकारी संस्था ‘वखान सहकारी संस्था’ स्थापना भएको मिति २०१३ चैत्र २० को ऐतिहासिक दिनको सम्झनामा राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको सर्वविदितै छ।
नेपालको संविधानले आत्मनिर्भर, स्वतन्त्र र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागी सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा आत्मसात गरेको छ। सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा परिचालन गर्ने नीति संविधानमा उल्लेख भएअनुरूप क्षेत्रगत नीति तथा कार्यक्रम, आवधिक योजनाका दस्तावेजहरुमा उक्त संविधानको मर्मलाई समेटिएको छ। सहकारी क्षेत्रलाई सरकारको ३ तहको अधिकार सूचीमा समावेश गरी राज्यले उच्च प्राथमिकता दिएको छ।
स्वावलम्वन र पारस्परिकताको माध्यमवाट छरिएर रहेको पूँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गरी समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यावसायिक विधि सहकारिता हो। नेपाल जस्तो विकासशील मुलुकमा यो दिगो विकासका लक्ष्यहरु पुरा गर्ने वलियो माध्यम पनि हो। वर्तमान समयमा विश्वव्यापी आर्थिक मन्दीको प्रभावले विगत लामो समयदेखि नेपालमा पनि उद्योग व्यवसायको कारोवारमा संकुचन वैक तथा वित्तिय संस्था तथा सहकारीको क्षेत्रमा तरलताको अभावका कारण सहकारीकर्मी लगायत आम नागरिक मर्माहित हुनुपर्ने अवस्था छ। यस संकटको क्षणमा समेत कत्ति पनि विचलित नभइ सहकारीमा सदस्यको वचतको सुरक्षाको लागि प्रतिवद्ध र जिम्मेवार रहेको सन्देश प्रवाह हुने गरी अघि वढ्न सम्पूर्ण सहकारीकर्मीहरुलाई अपिल गर्दछु।
अन्त्यमा, संविधानको मर्मअनुरुप समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न सहकारी संस्थाहरुले सहकारी मूल्य मान्यता, सिद्धान्त र दर्शनको अवलम्वन र परिपालना गर्दै सहकारी उन्नयनका लागी संविधान, सहकारी ऐन तथा नियमावलीले लिएको लक्ष्य र उदेश्य हासिल गर्न यस दिवसले सवैलाई प्रेरणा प्रदान गरोस। ६६ औं सहकारी दिवसको हार्दिक शुभकामना। धन्यवाद।
सीता कुमारी सुन्दास
मन्त्री
आर्थिक मामिला मन्त्रालय गण्डकी प्रदेश
मिति २०७९।१२।२०





