बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जापानीे रंगमञ्चमा नेपाली नाटक

जापानीे रंगमञ्चमा नेपाली नाटक


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७९, सोमबार

पोखरा/ पोखरा स्थित इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिबार र ९ तारिख आइतबार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।

मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहारमध्ये एक हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने, मर्ने जाने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकठ्ठामा व्यस्त छन । उनीहरु आफ्नै शरीरका हरेक अंगसँग बेखबर छन् । आफ्नै मुटुसँग बेखबर छन् । मानिसको जीवन भ्रुणदेखि मृत्यु शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ । यो कलाले मानिसलाई सोच्न बाध्य बनाउने छ ।

कसरी प्रकृति चलिरहेको छ । यदि मानिस फूल भएको भए के हुन्थ्यो ? मानिस खोला भए के हुन्थ्यो ? मानिस बादल भए के हुन्थ्यो ? मानिस बीउ भए के हुन्थ्यो ? यस्ता अनेक प्रश्नहरू मानिसको दिमागमा उब्जिन्छन् । यो नाटक जीवन बाँच्ने फरक तरिकासँग सम्बन्धित रहेको निर्देशक र अभिनेता समेत रहेका पौडेलले दावी गरे । यसले मानव विकासक्रम र अन्त्यसम्मको संघर्ष गाथा बताइरहेको छ ।
मञ्चमा पौडेलसँगै, कपिल शर्मा र दीपेन्द्र पौडेलको पनि अभियन हेर्न पाइनेछ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङ्ले संगीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।

२०२२ मार्च महिनामा इटालीस्थित पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, संगीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदारनाथ पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्य रहेको थियो । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति इम्ब्रिओनिक तयार भएको थिएटरले जनाएको छ । यसलाइ २०७९ श्रावण ६ गते ढिकीडाँडा रिसोर्ट, घार्मीमा प्रदर्शन गरिएको थियो । २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेष्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो ।

पोखराका साथै काठमाडौंको मण्डला थिएटरमा भएको नेपाल इण्टरनेशनल थिएटर फेष्टिभलमा पनि यो नाटक भव्य प्रर्दशन भयो । त्यसपछि फरक फरक समयमा गरिएका कार्यशालाहरुले नाटकलाई परिस्कृत गर्दै यसपाली जापान यात्रामा लैजान लागिएको पौडेलले जानकारी दिए ।

इन्द्रेणी थिएटरको स्थापना २०७६ मा भएको हो । स्थापना कालदेखि हालसम्म संस्थाले नाटक तथा साहित्यका अन्य विधाहरुमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ भने यहाँका स्थानीय सरकारी निकायहरू, बाङ्मयिक संस्थाहरू तथा अन्य समान उद्देश्य भएका विभिन्न संस्थाहरूसंग समन्वय गर्दै काम गरिरहेको पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->