बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा फूलबारी रिसोर्टका सञ्चालक अमात्य ऋण तिर्न तयार

पोखरा फूलबारी रिसोर्टका सञ्चालक अमात्य ऋण तिर्न तयार


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७९, मंगलबार

पोखरा / करिब दुई दशकदेखि बन्द रहेको पोखराको पाँचतारे डिलक्स होटल फूलबारी रिसोर्ट पुनः सञ्चालनमा आउने भएको छ। सञ्चालक पीयुषबहादुर अमात्यले नेपाल बैंकको ऋण तिर्न तयार भएसँगै फूलबारी रिसोर्ट सञ्चालनमा आउने भएको हो।

अमात्य साँवा र ब्याज तिर्न तयार भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए। लामो समयको विवाद अन्त्य गर्दै बैंक र रिसोर्टका सञ्चालक अमात्यबीच सम्झौता भएको उनको भनाइ छ। यसका लागि करिब अन्तिम चरणको छलफल भइरहेको सिइओ अधिकारीले बताए।

‘अहिलेसम्मको छलफलअनुसार सञ्चालक अमात्यजी बैंकको ऋण तिर्न तयार हुनुभएको छ,’ अधिकारीले भने, ‘अब अन्तिम चरणको छलफल बाँकी छ। केही दिनमै निष्कर्ष आउनेछ।’

उनका अनुसार अमात्य बैंकलाई साढे दुई अर्ब रूपैयाँभन्दा धेरै रकम तिर्न तयार भएका छन्। सम्झौताअनुसार २०८० असार मसान्तभित्र बैंकले सम्पत्ति फुकुवा गर्नेछ। खराब कर्जा असुलीका लागि लामो समयको विवाद अन्त्य गरी सञ्चालक अमात्यसँग सम्झौता गरेर अघि बढेको सिइओ अधिकारीले बताए।

लामो समयदेखि बन्द फूलबारी रिसोर्टको कर्जा उठाउन बैंकले ताकेता गरिरहेको थियो। यसअघि गत असारमा बैंकले उक्त रिसोर्ट लिलामी प्रक्रियामा पनि लगेको थियो। नेपाल बैंकले गत असार ३ गते ३५ दिने सूचना निकालेर जग्गा, जमिन र रिसोर्ट भवन लगायतको सम्पत्ति लिलाम गर्न सूचना प्रकाशित गरेको थियो।

पोखरा महानगरपालिका–१५ मा रहेको होटल तथा यसले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक अमात्यको नाममा ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी सात आना जग्गा लिलामी गरेर ऋण असुली गर्न लिलामीमा राखिएको थियो। तर उक्त समयमा रिसोर्ट लिलामीका लागि एक कम्पनीले मात्र बोलकबोल गरेको थियो।

रिसोर्ट लिलामीका लागि एलिमेच इन्टरनेसनल कम्पनीले दुई अर्ब ७५ करोड रूपैयाँमा बोलकबोल गरेको थियो। बैंकले प्रस्ताव गरेभन्दा कम रकममा बोलकबोल गरेपछि उक्त प्रस्ताव अस्वीकार भयो। तत्कालीन सयमयमा रिसोर्ट सञ्चालक मुद्दामा गएकाले लिलामीका लागि प्रतिस्पर्धामा अन्य कम्पनी आउन सकेनन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->