पर्वत/ मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ वर्ष २०८० सालदेखि ‘बियर’का लागि प्रयोग हुने सिसाका ‘बोतल’ प्रयोगमा निषेध गरिएको छ ।
होटेल, पर्यटक वा स्थानीय जो कोहीले पनि ‘बियर’ खाएर राखिएका वा फालिएका सिसाहरू व्यवस्थापनमा समस्या भएपछि वैशाख एक गतेदेखि ‘बियर’ का सिसाका ‘बोतल’हरू प्रयोग गर्नलाई निषेध गरिएको गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताए ।
‘बियर’को सिसाको बोतलहरूको व्यवस्थापनमा गाउँपालिकाले विगतदेखि नै समस्या भोग्दै आएकाले गाउँपालिकाभित्र रहेका होटेल, पसल, घुम्न आउने पर्यटक साथै स्थानीयवासीले सिसामा रहेको बियर सेवन नगर्न गाउँपालिकाले अनुरोध गरेको छ । एक÷दुई वर्ष अगाडि पनि व्यवस्थापनको उपाय नलागेपछि ट्रकहरू खोजेर जिल्ला बाहिर पठाइएको भए पनि अहिले भने त्यसरी पठाउन नसकिने र उत्पादक कम्पनीहरूले पुनः प्रयोगका लागि नलिने भएकाले गाउँपालिकाले ‘बियर’का बोतलको व्यवस्थापनमा समस्या भोगेको हो ।
‘चार÷पाँच महिना अगाडि नै यो निर्णय भएको हो । तर अब नयाँ वर्षदेखि कार्यान्वयन गर्ने भनेर हामी लागिरहेका छौँ । अहिले ट्रकमा बाहिर पठाउन नपाउँदा अस्ति भर्खर मात्रै पनि एयरपोर्ट पछाडिको भागमा खाडल खनेर बोतल पुरेर व्यवस्थापन गरेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत आचार्य भन्छन्, ‘पहिले जस्तै अहिले पनि ट्रकमा पठाउने कुरा सम्भव छैन । पठाए पनि त्यसलाई कहाँ लैजाने ?’
सिसामा राखिएको ‘बियर’ का बोतलको विकल्पको रूपमा ‘क्यान बियर’ पनि रहेको र यसले पर्यटकहरूलाई असहज पनि नबनाउने भएकाले सिसाको प्रयोगमा निषेध गरिएको हो । ‘क्यान बियर’ को ‘क्यान’ लाई थिचेर आकारमा सानो बनाएर जम्मा पार्न सकिने र पुनः चक्रण विधिबाट नयाँ सामग्री बनाउन पनि सकिने भएकाले पनि गाउँपालिकाले सिसाको प्रयोगमा निषेध गरेको हो ।
‘बियर’ बाहेकका सिसाका ‘बोतल’ हरू प्रयोग गर्नमा भने समस्या नरहेको प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाइ छ । केही ‘डिस्टिलरी’ हरूलाई पत्र पठाएर बोतलको पुनः प्रयोगका लागि पत्र पठाएकोमा उनीहरू सकारात्मक रहेकोले ‘बियर’ बाहेकका सिसाको व्यवस्थापनमा समस्या नहुने भएको हो ।





