पोखरा/ कपडा व्यवसायी एसोसिएसन कास्कीको २७ औँ स्थापना दिवस, नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संस्था स्थापना भएको २७ वर्ष पूरा भएको अवसरमा प्रकाशित नयाँ वर्ष २०८० सालको भित्ते पात्रोको समेत विमोचन गरिएको हो ।
संस्थाका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोलाले व्यवसायीहरू सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । संस्थाका पूर्वअध्यक्ष रामचन्द्र गौतमले मुलुकको राजनीतिक अस्थिरता र बैक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजका कारण व्यवसायीहरू थप समस्यामा परेको जिकिर गरे । संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार जनकराज पराजुलीले आर्थिक चपेटामा परेका व्यवसायीहरूलाई घर भाडामा सहुलियतका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिए । अर्का पूर्वअध्यक्ष एवं सल्लाहकार यमनाथ तिमिल्सिनाले व्यवसायीका पीरमर्काका विषयमा एकाकार हुन आवश्यक रहेको बताए ।
यस्तै पूर्वअध्यक्ष नवीन नापितले कठिन परिस्थितिका बाबजुद पनि व्यवसाय सञ्चालन गर्नु परेको दुखेसो गरे । सो अवसरमा एसोसिएसनले विद्यार्थीहरू सारिका राना र खुसी तामाङलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले धन्यवाद ज्ञापन, स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामचन्द्र तिमिल्सिना र सञ्चालन संस्थाका महासचिव चोकबहादुर गुरुङले गरेका थिए ।





