पोखरा/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐन परिवर्तन नगरे अब पर्यटन विकास सम्भव नभएको बताएका छन् । पुरानो पर्यटन कानूनले वर्तमानको आवश्यकता संवोधन नगर्ने उनको भनाइ थियो । २०३८ सालमा बनेको ऐन लिएर आज पनि पर्यटन क्षेत्रको विकासमा लाग्नु हास्यास्पद भएको भन्दै मन्त्रीले ऐन संशोधन गर्नुको विकल्प नभएको उनले दोहो¥याए ।
होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाअधिवेशनको उद्घाटनमा सहभागी हुन आएका मन्त्री किराँतीले आफूभन्दा जेठो ऐन बोकेर हिँड्न बाध्य भएको र यसले केही लछारपटार नलाग्ने बताएका हुन् । ‘अहिले मैले बोक्नुपर्ने ऐन त म भन्दापनि जेठो रहेछ । त्यतिबेलाको अवस्था र अहिलेको अवस्था उही छैन् । यो ऐन संशोधन गर्नुपर्छ,’ उनले भने,‘यो ऐनले केही लछारपटार लाग्दैन । पर्यटनको विकास गर्ने हो भने ऐन निर्माण गर्न आवश्यक छ । ऐन परिवर्तन गर्न सकिएन भने पर्यटन व्यवसायका लागि केही गर्न सकिँदैन ।’ मन्त्री किराँतीले अब नेपालीले नेपाल घुम्ने र नेपाली चिन्ने अभियान अघि बढाइने बताए । विदेशी पर्यटकलाई मात्रै पर्यटन नभनी नेपालीले नै पहिला नेपाल घुम्नुपर्ने उनको भनाइ छ ।
उनले विदेशीको कपी गरेर विदेशीकै सेवा नभई रैथाने सेवा दिएमा उनीहरुका लागि नयाँपन हुने भनाइ राखे । सोही क्रममा उनले पोखराको बाटुलेचौरको इतिहास सुनाउँदै सांस्कृतिक संम्पदाको रुपमा घोषणा गर्न सक्नुपर्नेमा जोड दिए । ‘पोखराको बाटुलेचौरको छुट्टै इतिहास रहेछ । बाइसे चौबीसे राज्य हुँदा हिउँदे राज्यको रुपमा त्यो ठाउँ रहेछ । बाटुलेचौरलाई कथा बनाएर वा इतिहास बताएर भन्न किन सकिँदैन,’ उनले भने,‘ यसलाई सम्पदाको रुपमा घोषणा गर्न सक्नुपर्छ । यो ठाउ ँभनेको कृषि पर्यटनको ठाउँ रहेछ ।’
यस्तै गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्य डा. सुवास अधिकारीले गण्डकीको मुख्य आर्थिक स्रोत नै पर्यटन क्षेत्र रहेकाले पर्यटन क्षेत्रको दिगो विकासका लागि राज्यले ठोस कदम चाल्नुपर्नेमा जोड दिए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका मुख्य सचिव बद्रीराज ढुंगानाले पर्यटन प्रर्वद्धन गर्नका लागि उचित नीति नियमको आवश्यक रहेको बताए । उनले गण्डकी प्रदेश सरकारले जानी नजानि भएपनि नीति निर्माण गरेपनि संघ सरकारले त्यसो गर्न नसकेको सुनाए । उनले राज्य नयाँ संरचनामा गएपनि ऐन भने पुरानै हुँदै धेरै बाधा अवरोधको सिर्जना भएको बताए ।
कार्यक्रममा होटल व्यसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल, होटल व्यवसाय महासंघ बागमतीका अध्यक्ष दामोदर नेपाली, पर्यटन बोर्ड पोखराका कार्यवाहक प्रमुख नविन पोखरेल लगायतले बोलेका थिए । होटल व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले पर्यटन व्यवसायीका लागि उचित ऐनको आवश्यक रहेको बताए । पछिल्लो समय पर्यटन व्यवसाय धरापमा पर्दै गरेको अवस्थामा बैंकको चर्को ब्याजदरले समेत थिचिँदा समेत राज्य मौन बसेको उनको भनाइ छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।




