बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न प्रधानमन्त्रीसमक्ष पोखरेली व्यवसायीको माग

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न प्रधानमन्त्रीसमक्ष पोखरेली व्यवसायीको माग


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७९, सोमबार

पोखरा / पोखराका उद्योगी, व्यवसायीले पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुरु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरेका छन् । पोखरा पर्यटन परिषदको नेतृत्वमा काठमाडौं पुगेका व्यवसायीले अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने, बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने लगायतका माग प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका हुन् ।

सिंहदरबारमा सोमबार प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रैको नबनाउन आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री प्रचण्डले नै जनवरी १ मा उद्घाटन गरेका थिए । ‘तपाईं आफैंले उद्घाटन गरेको विमानस्थल अहिले नाम अन्तर्राष्ट्रिय तर उडान काठमाडौंजस्तो मात्र भएको छ’ पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए, ‘भारत, चीन, बंगलादेशलगायत देशमा तत्काल उडान थाल्न नीतिगत पहल गरिदिनुपर्‍यो ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज उडानको व्यवस्थासहित हवाइ सञ्जाल बिस्तार गर्न व्यवसायीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए। पोखरा उद्योग वाणिज्य संघ, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, होटल संघ पोखरा लगायत विभिन्न संघ, संस्था तथा उद्योगी व्यवसायीले आफूहरु निकै अप्ठ्यारोमा परेको गुनासो गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले प्रधानमन्त्रीसँग भने, ‘७-८ प्रतिशतको ब्याजदर आज दोब्बर वा त्यसभन्दा माथि पुगेको छ । ब्याज स्थिरै रहेको भए पनि तिर्न नसक्ने अवस्थाको व्यवसाय छ तर उल्टै ब्याज घट्नुको साटो बढेको छ, व्यवसाय चौपट छ, बैंकले ताकेता गरेको गर्‍यै छन्, किस्ता र ब्याज बुझाउन सकेका छैनौं ।’

कर्जा तिर्ने समयसीमा बढाउँदै पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्था गर्न व्यवसायीले आग्रह गरेका छन् । बैंक व्याजदर एकल अंकमा झार्नुपर्ने उनीहरुको माग छ । बैंक तथा वित्तीय संस्थाले पर्यटनमा अनिवार्य लगानी गर्नुपर्ने साविककै नीतिलाई ब्युँत्याउन पनि व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरे ।

नेपाल पर्यटन बोर्डको प्रशासनिक एवं व्यवस्थापकीय सुधार गरी पर्यटकीय संघ सस्थाका संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न पनि व्यवसायीहरुले माग गरे । स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकलाई सहज र मुख्य सहरसम्मको यात्रा सुविधाका लागि राजमार्गहरुको सुधार गर्नुपर्ने र पृथ्वी राजमार्गको पुनर्निर्माणलाई छिटो तथा व्यवस्थित बनाएदिन पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->