काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधान गर्न निजी र सरकारी पक्ष मिलेर बृहत् राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा सुरु ५७औँ वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारसँग प्रस्ताव राख्दै सवै पक्ष मिलेर संकटको समाधान गर्नुपर्ने वताएका हुन्।
अर्थतन्त्र गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताउदै ढकालले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा बृहत् राष्ट्रिय विमर्श गरी संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताए । अहिले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरुले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न सकिने बताए।
नेपाल जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै ढकालले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए।नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपायहरु ल्याउनुपर्ने बताउदै अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएकोले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए।
यो साधारणसभापछि ढकालले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हाल्दैछन् । महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था रहेको छ ।





