बागलुङ/ पछिल्लो समय देशको अर्थतन्त्रमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा समेत प्रभाव परेको सरोकारवालाले बताएका छन् । देशका केही ठुला सहकारी संस्थाहरुको गतिबिधिका कारण देशभर रहेका लाखौं सहकारी संस्थाहरुले आफ्नै शेयर सदस्यको समेत विश्वास गुमाउनु परेको उनिहरुको गुनासो थियो ।
जिल्ला सहकारी संघ बागलुङले आयोजना गरेको नयाँ बर्षको शुभकामना आदानप्रदान तथा सहकारीको समसामयिक विषयमा छलफल कार्यक्रमका सहभागीले सहकारी आधारभूत वर्गको आधार बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहकारी विभागका उपरजिष्टार टोलराज उपाध्यायले सहकारी विश्वासले चल्ने संस्था भएकाले शेयर सदस्यहरुको विश्वास जित्ने सहकारी कहिलै संकटमा नपर्ने बताए । ‘सदस्यको नजिक पुगौं, उनीहरुले काँध थापे भने सहकारीलाई समस्या हुँदैन्, सहकारी भनेकै सदस्यको लागि हो,’ उपाध्यायले भने ‘सहकारी स्वनियमनकारी संस्था हो भनेर नियमनकारी र सहकारी दुवै उम्किँदा समस्या आएका छन्, यसमा विचार गर्नुपर्छ ।’
सरकारी र निजी क्षेत्रको बीचमा रहेको खालिपना पूरा गर्नका लागि सहकारीको कल्पना गरिएको भन्दै उनले सहकारीले उत्पादन र उद्यममा ध्यान दिनुपर्नेमा जोड दिए । उत्पादनमा लागेका सहकारी कहिलै संकटमा नरहेको उनको जिकीर थियो । ‘हाम्रो संस्थामा समस्या आए समाधान पनि हामि आँफैले गर्ने हो, अरु कसैले गर्देला भनेर नबसौं,’ उपाध्यायले भने ‘संस्थाका समस्या समयमै पहिचान गर्दा छिटो समाधान हुन्छन् ।’
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालन रामबहादुर जिसी, दुग्ध संघका सञ्चालक दीपक गौतम, बहुउदेश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवर, जिल्ला सहकारी संघका सल्लाहकार मोहनलाल शर्मा, प्रगति सहकारीका अध्यक्ष कुमार पौडेल एकता सहकारीका प्रबन्धक दिपक राजभण्डारी लगायतले धारणा राखेका थिए ।
जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षता, उपाध्यक्ष पिंगला जिसीको स्वागत र सचिव तेजप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





