पोखरा / गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा बुधवारदेखि १८ औं फेवा नववर्ष महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरे ।
कार्यक्रम उद्घाटन गर्दै महानगर प्रमुख आचार्यले पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्यसचिवको टेबलमा पुगेर रोकिएको बताए । तर संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने उनले वताए ।
यो घोषणसँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधरणका लागि खोल्ने विषय जोडिएको महानगर प्रमुख आचार्यले सुनाए । होटल संघ पोखराले आयोजना गरेको तीनदिने महोत्सवले पर्यटन, संस्कृति र खानाका परिकारलाई मुख्य जोड दिएको छ ।
महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमै आयोजना भइरहेको छ । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।




