काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो ।
तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले अञ्जनलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषण गर्न भने बाँकी छ ।
वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वत: अध्यक्ष बन्ने प्रावधान अनुसार महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनेछन् । यीबाहेक महासंघको ६३ पदको लागि भएको चुनावी परिणाम यसअघि नै आइसकेको छ । वस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल, जिल्ला/नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण बैद्य, एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएका छन् ।





