म्याग्दी / जिल्लाको रघुगङ्गा गाउँपालिका-१, स्थित वेग र बाँदुक गाउँलाई जोड्न निर्माण गरिएको झोलुङ्गे पुल निर्माण भएको पाँच वर्षपछि उद्घाटन गरिएको छ । वेग र बाँदुक दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको ३ सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल शुक्रबार प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले उद्घाटन गरे ।
वि.सं. २०७३ साउनमा निर्माण सुरु भएको झोलुङ्गे पुल २०७४ वैशाख ३० गते निर्माण सम्पन्न भएको थियो । तत्कालीन जिल्ला विकास समितिले २ करोड ७९ लाख ९० हजार रुपियाँ लागतमा पुल निर्माणको लागि मुक्तिनाथ श्री गीता जेभीलाई ठेक्का दिएको थियो ।
पुल निर्माणका लागि जिल्ला विकास समिति र स्थानीयको ३६ लाख रुपियाँ बराबरको लगानीमा दुवैतर्फबाट सडकको पहुँचमार्ग विस्तार गरिएको थियो । वेग र बाँदुक गाउँको बीचमा रहेको वेगखोलाको खोचमाथि निर्माण भएको झोलुङ्गे पुल १४८ मिटर अग्लो छ ।
पुल निर्माण कार्य सकिएको भए पनि पुलबाट वेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायबाट पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण भएपछि निर्माण भएको पाँच वर्षपछि उद्घाटन गर्नुपरेको वडा अध्यक्ष बिलबहादुर फगामीले वताए ।
उनका अनुसार बेनी-जोमसोम सडकखण्डको तिप्ल्याङदेखि बाँदुक, लामो पुल हुँदै वेग भएर पर्यटकीयस्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी धौलागिरि आइसफल पदमार्गमा जोड्ने योजना छ ।
यो पुल निर्माण भएपछि बाँदुक र वेगगाउँ वारपारको लागि लाग्ने ३ घण्टाको यात्रा ३० मिनेटमै छोटिएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल सहभागिता थिए ।





