बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एक हप्तामा पर्वतका १६ ठाउँमा आगलागी, धूवाँले धुम्म बन्यो आकाश

एक हप्तामा पर्वतका १६ ठाउँमा आगलागी, धूवाँले धुम्म बन्यो आकाश


  • संजय रेग्मी
  • बैशाख ४ २०८०, सोमबार
फाईल तस्विर

पर्वत / बर्खाको समयमा बाढी पहिरोबाट हुने प्राकृतिक विपद्मा उद्धार गर्न होस वा गर्मी याममा आगलागीबाट बन वा घरमा लाग्ने डढेलो नियन्त्रणमा लिने मुख्य भूमिकामा जिल्लामा रहेका सुरक्षा निकाय तयारी अवस्थामा हुन्छन् ।

हरेक पटकको बर्खामा बाढी र पहिरोले मानवीय तथा भौतिक क्षति हुने गरेको पर्वतमा हरेक गर्मी याममा उत्तिकै संख्यामा आगलागीका घट्नाहरु पनि हुने गरेका छन् । यस गत बर्खामा मानवीय र भौतिक क्षति भएपछि निरन्तर उद्धार र सुरक्षामा जिल्लाका सुरक्षा निकायलाई यति बेला जिल्लाका विभिन्न स्थानमा भइरहेका आगलागीहरू नियन्त्रणमा लिन दौडादौड गर्नुपरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार चैत २५ देखि जिल्लामा आगलागीका घटना सुरु भएकोमा वैशाख दुई गतेसम्म एक हप्ताको अवधिमा १६ स्थानमा रहेका बनमा आगलागीका घटनाहरू भएका छन् ।

चैत २५ गते साँझ करिब साढे पाँच बजेको समयमा कुश्मा नगरपालिका–१ पाङको मसुरबाटीबाट आगलागीको सुरुवात भएको थियो । त्यो करिब १२ घण्टापछि भोलिपल्ट बिहान पाँच बजे सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासबाट नियन्त्रणमा आएको थियो ।

चैत २५ गते नै पैयुँ गाउँपालिका–३ बेहुलीबासमा, महाशिला गाउँपालिका–१ होश्राङदीको कुवापानी सामुदायिक बनमा, फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा व्यक्तिको पाखो बारीको भीरमा आगलागी भयो । ती सबै स्थानका आगलागीहरू कहीँ सुरक्षाकर्मीले त कहीँ स्थानीयले नियन्त्रणमा लिएका छन् ।

चैत २६ गते जलजला गाउँपालिका–८ नाग्लीवाङबाट सुरु भएको आगो नियन्त्रणमा लिन दुई दिन लाग्यो । तल्लो भागबाट माथिल्लो भागतर्फ सरेको आगोले बन क्षेत्रबाट बस्तीमा लगिएका पानीका पाइपलाइन बगाएर त्यहाँका गाउँहरू अझै पनि खानेपानीको समस्यामा छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले लगातार दुई दिनसम्म दिनरात नभनी नियन्त्रणमा लागेपछि मात्रै डढेलो नियन्त्रणमा आयो ।

चैत २६ मा नै मोदी गाउँपालिकाको गिज्यानमा रहेको एक्ले फाँट सामुदायिक बनमा, कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गामाथिको भीरमा, चैत २८ गते फलेवास नगरपालिका–८ ठानामौलामा रहेको सामुदायिक बनमा, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको झाँक्री खोला सामुदायिक वनमा, फलेवास नगरपालिका–१० कुर्घामा रहेको कुर्घा सामुदायिक बनमा आगलागी भयो ।

चैत २९ मा कुश्मा नगरपालिका–२ खुर्कोटमा, नयाँ वर्षको दिन वैशाख एक गते कुश्मा नगरपालिका–८ चुवामा रहेको लहरेपानी रातोमाटो सामुदायिक वनमा र वैशाख दुई गते फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बनमा आगलागी भएको छ ।

प्रहरी नायव उपरीक्षक न्यौपानेले आगो लाग्नुको कारणबारे स्थानीय नागरिक नै जानकार हुने भएकाले आगलागी हुन नदिन स्थानीय नागरिक नै बढी सक्रिय हुनुपर्ने बताउँछन् । विभिन्न ठाउँमा एकै पटक आगलागी भएको अवस्थामा सीमित स्रोत र साधनको पहुँचमा रहने सुरक्षाकर्मीले मात्रै आगो नियन्त्रणमा लिन सम्भव नहुने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले धेरै ठाउँमा भएका आगलागीहरू नियन्त्रणमा आएको भए पनि केही नयाँ वनहरूमा पनि आगलागी भइरहेको खबर आएका बताएका छन् ।

आगलागीका कारण वातावरण धूवाँमय बन्दा बायु प्रदूषण ह्वात्तै बढेको छ । पर्वत र आसपासको क्षेत्रको ‘भिजिबिलिटी’ कम हुँदा प्रकृतिलाई देख्न समेत कठीन भइरहेको छ । घरबाट बाहिर निस्किँदा धूवाँको गन्ध सहजै अनुभूति गर्न सकिने अवस्था छ भने कतिपयले आँखा पोल्ने समस्या आएको पनि बताएका छन् ।

स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने पर्वत अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मीना अधिकारी बताउँछिन् । धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनुका साथै दम वा क्रोनिक ब्रोन्काइटिस जस्ता समस्याहरू निम्तिन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->