पर्वत/ हिउँद याममा गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकाहरू बजार क्षेत्र भन्दा बाहिर रहेका धाराको खोजीमा जान्छन् । बिहान र बेलुका गरेर धारामा दैनिक आठ घण्टा पानीको पूर्ण आपूर्ति हुने गरेको कुश्मामा यति बेला पानीको आपूर्ति ह्वात्तै घटेको छ । अड्कलेर छोडिएको केही पानी मात्रै आपूर्ति हुँदा त्यो पानीले पकाउन, पिउन र शौचालयका लागि ठिकै हुन्छ । तर नुहाउन र कपडा धुनका लागि पानीको अभाव भएपछि बिहान, बेलुका र बिदाका दिनमा बजार आसपासमा रहेको ग्रामीण क्षेत्रका धारामा पुग्नेहरू पनि भेटिने गरेका छन् ।
गर्मी बढेसँगै पछिल्ला केही दिनयताबाट पानीको आपूर्तिमा ‘लोडसेडिङ’ सुरु भएको कुश्मा बजारमा पानीको आपूर्ति गर्दै आइरहेको शिवालय कुश्मा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले बताए । संस्थामार्फत दैनिक ३० लाख लिटर पानी आपूर्ति हुँदै आएकोमा गर्मी लागेसँगै बढीमा दैनिक आठ लाख लिटर मात्रै पानी वितरण भइरहेको भन्दै उनले बर्खा नलागेसम्म यही अवस्था रहने बताए। यो आपूर्ति कुश्मा बजारमा चाहिने पानीको मात्राको करिब ७५ प्रतिशतले कम हो ।
‘कुश्मा बजारमा दैनिक २५ देखि ३० लाख लिटरसम्म पानीको आपूर्ति हुने गरेकोमा अहिले दैनिक बढीमा आठ लाख लिटर मात्रै वितरण भइरहेको छ । बर्खाको बेलामा जसोतसो पुग्ने भए पनि हिउँदमा समस्या नै छ । बर्खामा पनि पहिरो र बाढीले पाइप फुट्दा समस्या हुने गरेको छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अर्को आयोजना नभएसम्म पूर्ति गर्न नसकिने अवस्था आएको छ । अर्को योजनाका लागि सङ्घीय सरकारमार्फत विभागमा प्रस्तावना दिएका छौँ ।’
सामान्य अवस्थामा बिहान चार र बेलुका चार गरेर दैनिक आठ घण्टाका दरले घरमा पानी जाने गरेको थियो । उही माग र उही जनसङ्ख्यालाई अहिले दैनिक तीन घण्टाको आपूर्तिले मात्रै धान्नुपर्ने बाध्यता रहेकोले कुश्मा बजारमा पानीको अभाव भएको हो ।
कुश्मामा मोदी गाउँपालिकामा रहेको पातीखोलाबाट प्रति सेकेन्ड १७ लिटरका दरले पानीको आपूर्ति भइरहेको छ । त्यहाँको योजनाको क्षमता नै त्यति रहेकाले क्षमता अनुसार नै पानी आइरहेको छ । तर कुश्मामा पानीको आपूर्ति हुने गरेको प्रमुख मुहान भने कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको क्यादी खोला हो । बर्खाको समयमा तर्नै नसकिने बन्ने क्यादी खोलामा हिउँदको समयमा भने पानी भेट्टाउन नै मुस्किल हुने गरेको छ । यो खोलाबाट प्रतिसेकेन्ड करिब ३५ लिटर पानी आपूर्ति हुने गरेकोमा अहिले घटेर कठिनले १० लिटर पुगेको छ ।
विगतमा पानीको आपूर्ति हुँदै आएको जिल्ला प्रहरी कार्यालय पर्वतको नजिकै रहेको डम्डारे खोलाबाट हुने आपूर्ति पूर्ण रूपमा बन्द रहेको छ । उक्त खोलाबाट पाइपमार्फत पानी ल्याइएको भए पनि बाढी र पहिरोले पानी बगेको सतह नै नदेखिँदा थोरै मात्रामै भए पनि आउने गरेको पानी बन्द भएको छ । हिउँद लाग्दासाथ पानीको अभाव हुने र यसले दैनिकीलाई प्रभाव पारिरहेको गुनासो बढेपछि संस्थाले जिल्ला प्रहरी कार्यालय नजिकै २०७८ चैतमा ‘बोरिङ’ गरेर पानी निकाल्न सुरु गरिएको थियो । प्रतिसेकेन्ड पाँच लिटर पानी तान्ने गरेको ‘बोरिङ’ को ‘मोटर’ समेत केही केही दिन अगाडि समस्या आएपछि ‘बोरिङ’ को पानी आपूर्ति पनि रोकिँदा कुश्मा बजारमा पानीको अभाव भएको हो ।
अर्को आयोजना नबनाएसम्म हिउँदको बेलामा पानीको आपूर्ति दिन सकिने अवस्था नरहेकाले कुश्मा बजारमा पानीको व्यवस्थापनको लागि सबैले चासो दिनुपर्ने संस्था बताउँछन् । विभागमा माग गरिएको योजना स्वीकृत भएर आएमा अहिले सबै संरचनालाई हटाएर नयाँ संरचनाको विकास गर्नुपर्ने अवस्था छ । केही वर्ष अगाडिसम्म न्यून जनसङ्ख्या रहेको कुश्मा बजारलाई हरेर सीमित क्षमताको संरचनाले अहिलेको बढेको जनसङ्ख्या र परिवारका लागि आपूर्ति दिन नसकिने अवस्था छ ।
थोरै परिवार र सानो जनसङ्ख्यालाई केन्द्रित गरेर बर्सौँ अगाडि बनाइएका संरचनाले अहिलेको माग धान्न नसकेको तथा प्रयोग गरिएका सामग्रीहरू समेत पुराना बन्दै जाँदा पानीको ‘लिकेज’ ले गर्दा पनि पानीको अभाव हुने गरेको छ । शिवालय कुश्मा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको आपूर्ति लिने घरको सङ्ख्या नै दुई हजार पाँच सय भन्दा बढी पुगेका छन् ।





