पर्वत / जिल्लाको जलजला गाउँपालिका–५ लेकफाँटको ग्राम प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक भवानीशंकर पौडेल चार बजेपछिको समयमा पनि विद्यालयमा हुन्छन् । चार बजेको घण्टी बजेपछि विद्यालय बन्द गरेर घर प्रस्थान गर्ने उनी जस्तै विद्यालयका अन्य शिक्षकहरू पनि साँझ साढे पाँच÷छ बजेसम्म पनि विद्यालयमा हुन्छन् ।
विद्यालयको समयबाहेक घरका काम गर्ने उनीहरू जस्तै गाउँपालिकाका अधिकांश विद्यालयका शिक्षकहरू विद्यालय समयबाहेक पनि कम्प्युटरमा केही न केही काम गरिरहेका हुन्छन् ।
‘विद्यालयमा समयमा कक्षा सञ्चालन नै गर्नुपर्छ । गाउँपालिकाले अब सबै विद्यालयलाई डिजिटल बनाउने र आई.सी.टी.को उच्चतम प्रयोग गरेर गुणस्तरीय शिक्षाका लागि सबै एकजुट हुने भनेर हामीहरू पनि गाउँपालिकाको योजना अनुसार अभ्यास गरिरहेका छौँ’, पौडेल भन्छन्, ‘जान्ने साथीहरूले नजान्ने साथीहरूलाई जानेको कुरा सिकाउनुहुन्छ । हामीहरू पनि नजानेका कुरामा यो जानिएको छैन भनेर निर्धक्क खुलेर सिकिरहेका छौँ । नियमित अभ्यास भएपछि भने कठिनाइ धेरै नहुने रहेछ ।’
गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार गाउँपालिकाले गाउँपालिकाका विद्यालयमा रहेका आई.सी.टी.का हरेक उपकरणहरूलाई मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको छ । मर्मत सम्भारको लागि बजेट अभावले केही विद्यालयमा त्यस्ता सामग्रीहरू थन्किएका छन् भने कतिपयमा प्रयोगमा ल्याउन सक्ने जनशक्ति नहुँदा पनि उपकणहरू बिग्रिएको अवस्थामा रहेका छन् । विद्यालयका शिक्षकलाई नै कम्प्युटर वा आई.सी.टी.का उपकरणहरूमा आउन सक्ने सामान्य समस्याको समाधान र तिनीहरूको प्रभावकारी प्रयोग विषयमा प्रशिक्षण दिएर गाउँपालिकाका हरेक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा गाउँपालिका जुटेको छ ।
बिहान बेलुकाको समयमा घरका काम गर्ने शिक्षकहरू पनि घरका काम नै छाडेर प्रविधि सिकाइमा सक्रिय हुनुले पनि विद्यालयलाई ‘डिजिटल’ बनाउने अभियान सफल हुने आचार्यको विश्वास छ । ‘बिहान बेलुका घरका सामान्य गर्दा पनि घरका सदस्यलाई राहत हुन्थ्यो । डिजिटल माध्यमको प्रयोगमा उहाँहरू अग्रसर देखिनुभयो। घरका काम भन्दा आफ्ना पेसागत कामलाई प्रभावकारी बनाउन तयार हुनुभयो’, उनले भने, ‘सुरुमा माध्यमिक तहमा पूर्ण डिजिटल प्रणालीको प्रयोग गर्न लागिरहेका छौँ । गाउँपालिका शैक्षिक सुधारको लागि हरेक काम गर्न तयार छ । अहिले कम्प्युटरको एक महिने तालिम पनि प्रशिक्षक सहितको व्यवस्थापनमा गरिरहेका छौँ ।’
एक महिना लामो प्रशिक्षणमा विद्यालयका कम्प्युटर, ल्यापटप, प्रिन्टर, इन्टरनेट जडान, लगायत प्राविधिक उपकरणको प्रयोग र स्थानीय स्तरमै मर्मत गर्नेसम्मको सीप सिकाउने तालिमको लक्ष्य छ । गाउँपालिकाका ४४ ओटा सामुदायिक विद्यालयका करिब तीन सय जना शिक्षकहरू यो तालिममा सहभागी छन् । एक ठाउँबाट अर्को ठाउँमा गएर सिक्न समस्या हुने भएकाले पायकको स्थान पर्ने गरी गाउँपालिकाभरमा ११ ओटा सिकाई केन्द्र निर्धारण गरेर तालिम चलिरहेको गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्य बताउँछन् ।
गाउँपालिकामा कार्यरत शिक्षकहरूलाई प्राविधिक ज्ञान र सीपको आधारमा समूह ‘ए’, ‘बी’ र ‘सी’ मा विभाजन गरिएको छ । ‘ए’ समूहमा रहेका शिक्षकहरू प्रशिक्षकको रूपमा, ‘बी’ समूहमा रहेका शिक्षकहरू अरूलाई सिकाउन नसके पनि आफ्ना साधारण कामहरू गर्न सक्ने क्षमताका र ‘सी’ समूहका शिक्षकहरू प्राविधिक ज्ञानमा केही कमजोर रहेका छन् । विद्यालयलाई प्रविधिमैत्री बनाउनको लागि ‘सी’ समूहमा रहेका शिक्षकहरूलाई ‘बी’ समूहमा लैजान सक्नुपर्ने मान्यता अनुसार गाउँपालिकाले खटाएका प्रशिक्षक तथा ‘ए’ समूहमा रहेका शिक्षकहरुले विशेषतः ‘सी’ समूहमा रहेका शिक्षकलाई केन्द्रित गरेर प्रशिक्षण दिइरहेका छन् ।
शिक्षकहरुले के–के सिक्ने भन्ने विषयवस्तु पूर्व निर्धारण गरेर एकीकृत रूपमा सिकाइको काम भइरहेकोले तालिमको समापनसँगै सबैमा एकै खालको सीप विकास हुने अधिकृत आचार्य बताउँछन् । तालिम पूरा भएपछि गाउँपालिकाले निर्माण गरिरहेको ‘सफ्टवेयर’ लाई प्रयोग गरेर कक्षा सञ्चालन हुने छन् । ‘शिक्षकहरूलाई प्रशिक्षण पूरा गरेसँगै गाउँपालिकाले निर्माण गरिरहेको सफ्टवेयर प्रयोगमा आउने छ । सबै विषयको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, शैक्षिक सामग्री लगायतका सुविधा रहेको सफ्टवेयर बन्दै छ । अहिले सुरुमा माध्यमिक तहमा कार्यरत शिक्षकहरूको लागि यो प्रयोगमा आउने छ’, शिक्षा अधिकृत आचार्यले भने, ‘क्रमिक रूपमा नि.मा.वि. र प्रा.वि.मा पनि लागू हुने छ। अब जलजलाका हरेक विद्यालयका हरेक कक्षाकोठा डिजिटल बन्ने छन् ।’
तालिमबाट विद्यार्थी र शिक्षकको प्रविधिमा पहुँच बढ्ने तथा प्राविधिक उपकरणमा हुने खर्च, समयको बचत हुने अपेक्षा गरिएको छ । धेरैजसो विद्यालयमा आर्थिक, सामान्य प्राविधिक ज्ञान, सिप भएका जनशक्ति र सामाग्रीको अभावमा लाखौँ मूल्य खर्चिएर खरिद गरेका कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका उपकरणहरू बिग्रिएपछि मर्मत हुन नसकेकामा अब केही हदसम्म त्यो समस्याको समाधान हुने उनको भनाई छ ।
विद्यालयलाई प्रविधिमैत्री बनाउनको लागि इन्टरनेटको सुविधा अनिवार्य रहेकोले केही विद्यालयमा विगतका सम्झौता अनुसार र केही विद्यालयमा नयाँ सम्झौता गरिने छ । गाउँपालिकाका अध्यक्ष आचार्य सहितको टोलीले यसैका लागि हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरण र गाउँपालिकाबिच ३४ वटा आधारभूत विद्यालयमा दुई वर्षका लागि निःशुल्क इन्टरनेट जडान सहितको सुविधाको सम्झौता भएको छ । ‘फाइबर इन्टरनेट’ को पूर्वाधार पुगेका विद्यालयहरूमा, फाइबर नेट जडान गरिने छ भने ‘फाइबर’ नपुगेका ठाउँमा ‘वायरलेस इन्टरनेट’ को पहुँच विस्तार हुने छ ।
गाउँपालिकाका केही विद्यालयहरूमा विगतका वर्षहरूमा नै सम्झौता गरेर ‘इन्टरनेट’ जडानको काम गरेकाले तिनीहरूलाई निरन्तरता दिँदै सुविधा नभएका ठाउँमा जडान गर्नका लागि दूरसञ्चार प्राधिकरण र शिक्षा विभागमा समेत प्रस्तावनाहरू पेस गरिएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए । शिक्षा क्षेत्रमा आवश्यक लगानी गर्न गाउँपालिका तयार रहेकोले आफूहरूले शैक्षिक गुणस्तरमा केही न केही प्रगति गर्ने उनको विश्वास छ ।





