काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्थालाई नयाँ शोषकको संज्ञा दिएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको उनको भनाई छ।
होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री किरातीले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्न गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको बताए ।
उनले पहिले शोषकहरू दौरा सुरूवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए ।
मन्त्री किरातीले शहरमा पनि बैंक तथा वित्तिय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराए ।





