बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतमा पनि देखियो ‘लम्पी स्किन’, फलेवासमा संक्रमण बढ्दै

पर्वतमा पनि देखियो ‘लम्पी स्किन’, फलेवासमा संक्रमण बढ्दै


  • संजय रेग्मी
  • बैशाख २८ २०८०, बिहिबार

लम्पी स्किनको सुरुवाति लक्षणको रूपमा पशुको घाँटी र खुट्टा सुन्निनु लम्पकी स्किनको सुरुवाति लक्षण हो ।

पर्वत/ पछिल्लो समय पशुमा महामारीको रूपमा फैलिँदै गरेको ‘लम्पी स्किन’ रोग पर्वतमा पनि फैलिँदै गएको पाइएको छ ।
यस अगाडि जिल्लाका गाई, भैँसी, पाडापाडी, बाच्छालगायतका जनावरमा यसको प्रभाव नदेखिएको भए पनि गत चैत २८ गते फलेवास नगरपालिका–९ भँगरास्थित सिरुबारीका एक कृषकले पालेको गोरुमा ‘लम्पी स्किन’ देखिएको थियो । फलेवास नगरपालिकाको पशु विकास शाखाका प्रमुख प्रताप पौडेलका अनुसार त्यो गोरुलाई ‘आइसोलेसन’ सहित निगरानीमा राखेर उपचार गरेपछि निको भएको थियो ।

दोस्रोपटक गत वैशाख १८ गते फलेवास–६ देवीस्थानमा पालिएको एउटा ब्याउने गाईमा ‘लम्पी स्किन’ देखाप¥यो । उक्त गाईलाई पनि उच्च निगरानी सहितको ‘आइसोलेसन’ मा राखेर उपचार जारी राखेपछि अवस्थामा सुधार आएको छ । देवीस्थानपछि वडा नं. १० कुर्घा र वडा नं. ३ शंकरपोखरीमा पनि गाई र गोरुमा संक्रमण देखिएको छ। पछिल्लो समयमा फलेवासमा मात्रै ९/१० ओटा पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको शाखा प्रमुख पौडेलको भनाइ छ । नेपालमा दुई वर्ष अगाडि पहिलोपटक यसको सङ्क्रमण देखिएकोमा पर्वतमा पहिलो पटक देखिएको हुन सक्ने पशु प्राविधिकहरू बताउँछन् । गाई र भैँसी दुवै सङ्क्रमणको बराबर जोखिममा हुने भए पनि फलेवास नगरपालिकामा भने हालसम्म भैँसीमा सङ्क्रमण देखिएको छैन ।

सङ्क्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा विभिन्न माध्यमबाट सङ्क्रमण फैलिने जोखिम रहेको तर कृषकहरूले यसमा त्यति ध्यान नदिएका कारण ‘लम्पी स्किन’ महामारीको रूपमा फैलिन सक्ने उनले बताए । ‘लम्पी स्किन एक भाइरल प्रकारको छाला रोग हो । यसले गाईबस्तुलाई असर गर्छ । यो रगत खुने कीराहरू झिँगा, लामखुट्टे, डाँस, लगायतको टोकाई, ¥याल लगायतका माध्यमबाट प्रसारण हुन्छ’, पौडेलले भने, ‘यसले छालामा नराम्रो असर त पार्छ नै जनावरमा ज्वरो पनि आउँछ । समयमै उचित उपचार हुन नसके पशुको मृत्यु पनि हुन सक्छ। विशेष गरी जनावरहरूमा जो पहिले भाइरसको सम्पर्कमा आएका थिएनन् तिनीहरू बढी जोखिममा हुन्छन् ।’

पशु बस्तु चराउन लैजाने, सार्वजनिक रूपमा छोड्ने गर्दा महामारी झनै फैलिने भएकोले सङ्क्रमित पशुलाई ‘आइसोलेसन’ मा राख्नुपर्ने प्राविधिकहरूको सुझाव छ । सङ्क्रमणबाट जोगाउनुपर्ने बेलामा एक पशुबाट अर्कोमा सङ्क्रमण सार्ने गरी चराउन लैजाँदा जोखिम बढी देखिएको छ ।

कृषकहरूले पशु, जग्गा, कृषिलाई कम महत्त्व दिँदै प्राथमिकतामा नराख्दा फलेवाससहित नेपालकै अवस्था पनि उस्तै रहेको शाखा प्रमुख पौडेलले बताए । ‘खेतीपाती र पशुपालनलाई कसैले पनि धेरै प्राथमिकतामा राखेको अवस्था छैन। नेपालभरिकै अवस्था यो हो भने फलेवासको पनि अवस्था उही हो’, उनले भने, ‘कृषकको प्राथमिकतामा पशु नपर्दा उनीहरूले स्याहार नपाउने, गोठ सफा नहुने लगायतका कारण रोग बढेको छ । किरा, फट्याङ्ग्रा, लामखुट्टे, झिँगा, डाँसलगायतका माध्यमबाट एक पशुबाट अर्को पशुमा प्रसारण हुन्छ । रगत चुस्ने किराहरूको माध्यमबाट सरिरहेको छ । पर्वतको लगभग सबै क्षेत्र र पालिकामा लगभग देखिइसकेको अवस्था छ ।’

‘लम्पी स्किन’ को सङ्क्रमण भएपछि छालामा ५० एम.एम सम्मको मासुको डल्ला बन्ने, डल्ला बढेर घाउ बनेपछि फुट्ने हुन्छ । मासुको डल्ला बेस्सरी चिलाउने र त्यो बेलामा पशुले जिब्रोले कन्याउँदा खस्रो जिब्रोका कारण घाउ खुइलिएर फुट्ने गरेको देखिएको छ । पशु विकास शाखाका प्रमुख पौडेलका अनुसार ‘लम्पी स्किन’ प्रभावित पशुहरूको उपचार चलिरहेकोले रगत धेरै बग्न भने पाएको छैन । घाउ देख्दासाथ एन्टीबायोटीकहरु प्रयोग गरिरहेका कारण अवस्था नियन्त्रित रहेको उनको भनाई छ ।

‘पशुहरूको लागि यो एकदमै पिडादायी हुन्छ । सुरुको अवस्थामा खुट्टा र घाँटी सुनिने हुन्छ । कृषकहरूले पनि लम्पी स्किन हो भन्ने अनुमान गर्न सक्नुहुन्न । जसका कारण सुन्निएको औषधि खुवाउने वा प्राविधिकहरुलाई नदेखाउने पनि देखिएको छ’, उनले भनेका छन्, ‘सुरुवातको लक्षणको रूपमा घाँटी र खुट्टा नै सुनिन्छ । सुरुको अवस्थामा शरीरमा फोकाहरू देखिँदैन । फोका देखिइहालेमा त लम्पी स्किन हो भने अनुमान गर्न सकिहालिन्छ । कृषकहरू झुक्किएका कारण सँगै रहेका पशुलाई आइसोलेसनमा राखिएको छैन । जसका कारण थाहा नपाइकनै यसको सङ्क्रमण बढेको छ । बिरामी पशु सँगै भयो भने अरूमा सरिहाल्छ ।’

अहिलेसम्म मानिसमा भने नसरेको ‘लम्पी स्किन’ को प्रभाव साना पशुमा भने देखिएको छैन । ठुला पशुमाभन्दा साना पाडापाडी, बाच्छामा झनै कडा रूपमा लक्षण देखा पर्ने भए पनि फलेवास नगरपालिकामा भने साना पशुमा नदेखिएको हो । ‘लम्पी स्किन’ पीडित ठुला पशु राखिएकै गोठमा राखिएका साना पशुमा प्रभाव नदेखिएको भए पनि जोखिम भने उत्तिकै रहने छ ।

नगरपालिकाका विभिन्न स्थानमा रोगको सङ्क्रमण देखिएको र यो बढ्न सक्ने सम्भावना रहेकोले फलेवास नगरकार्यपालिकाले रोग नियन्त्रणका लागि आवश्यक सबै कदम चाल्ने भनेर निर्णय गरेको नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बताए । रोगलाई नियन्त्रणमा लिनको लागि प्राविधिकहरू औषधिसहित खटिरहेको भन्दै उनले व्यावसायिक फर्म र दूध संकलन गर्ने क्षेत्र बढी सजगता अपनाउन भनिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->