बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाली विज्ञानका विद्यार्थीलाई छात्रवृत्ति दिन्छ जलजला

बाली विज्ञानका विद्यार्थीलाई छात्रवृत्ति दिन्छ जलजला


  • संजय रेग्मी
  • बैशाख २९ २०८०, शुक्रबार

पर्वत / जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक धारतर्फ बाली विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने भएको छ ।

शैक्षिक विकास र शैक्षिक गुणस्तरका लागि विभिन्न योजनाहरू प्रयोग गरिरहेको गाउँपालिकाले सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र समयानुकूल शिक्षा प्रदान गर्नको लागि यो सुविधा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । उनका अनुसार आधारभूत तह अन्तर्गत कक्षा आठ उत्तीर्ण गरेपछि कक्षा नौमा बाली विज्ञान विषयमा भर्ना भएका विद्यार्थीलाई वार्षिक ३६ हजार रुपैयाँ दिने निर्णय भएको हो ।

गाउँपालिकाले यसै वर्षदेखि वडा नं. ५ लेकफाँटमा रहेको ग्रामप्रकाश माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान विषयमा अध्यापन गर्न सुरु गरेको छ । सोही विद्यालयमा भर्ना भइ कृषि क्षेत्रका लागि आवश्यक सीप सहितको प्राविधिक शिक्षा लिने बिद्यार्थीहरुको लागि छात्रवृत्ति रकम दिने निर्णय भएको हो ।

‘प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको हो,’अध्यक्ष आचार्यले भने,विद्यालयमा आवासीय रूपमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयले छात्रवृत्तिका लागि गाउँपालिकामा सिफारिस गरेपछि त्यो रकम विद्यार्थीहरूले प्राप्त गर्ने छन् ।’

जलजला गाउँपालिका कृषि उत्पादनका हिसाबले जिल्लामा नै अगाडि रहेकोले पनि गाउँपालिकामा कृषिका प्राविधिकहरूको माग धेरै हुने गरेको छ । तरकारी उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहँदै आएको जलजलामा आवश्यकता अनुसार प्राविधिकहरू तयार पार्न सकेमा गाउँपालिकाले कृषिमा पनि थप विकास गर्न सक्ने अध्यक्ष आचार्यको भनाइ छ ।

सरकारको ‘एक पालिका एक प्राविधिक विद्यालय’ अन्तर्गत कक्षा नौदेखि १२ सम्म ग्रामप्रकाश माविमा उक्त विषयमा पठनपाठन हुने भएको हो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कृषि प्राविधिक विषय अध्ययनका लागि हालै मात्र स्वीकृत प्राप्त भएको र चालु शैक्षिक सत्र २०८० बाट पठनपाठन सुरु हुन लागेको विद्यालयका प्रधानाध्यापक भवानीशंकर पौडेलले बताए ।

अहिले कक्षा आठ उत्तीर्ण गरी नौ मा चढेका ३९ जना विद्यार्थीहरू कृषि विषय लिएर अध्ययन गर्न चाहेका र अन्यत्रका विद्यालयबाट समेत विद्यार्थीहरू आउने उनको भनाइ छ । गाउँपालिकाले पनि स्थानीय तहमा रहेका अन्य विद्यालयका बिद्यार्थीहरुलाई बाली विज्ञान अध्ययन गर्न मन लागेको भएमा ग्रामप्रकाश माविमा जान तथा टाढाबाट जानेहरूका लागि आवासीय सुविधा समेत रहेको भन्दै अध्ययनका लागि प्रोत्साहन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->