बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जलजला गाउँपालिकाले कार्यान्वयनमा ल्यायो स्थानीय पाठ्यक्रम

जलजला गाउँपालिकाले कार्यान्वयनमा ल्यायो स्थानीय पाठ्यक्रम


  • संजय रेग्मी
  • बैशाख ३१ २०८०, आइतबार

पर्वत / जिल्लाको जलजला गाउँपालिकाले शैक्षिक क्षेत्रमा रूपान्तरण, गुणस्तर वृद्धि र एकरूपताको प्रयासका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
सभ्य, संस्कारयुक्त, पहिचान र सामर्थ्यसहितको जलजला गाउँपालिका निर्माणको अभियानमा शिक्षा क्षेत्रको माध्यमबाट योगदान पुगोस् भन्ने उद्देश्यले पाठ्यक्रम निर्माण गरेर आधारभूत तहमा कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए ।

गाउँपालिकावासी शिक्षा प्रेमी व्यक्तिहरूले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै शिक्षाको माध्यमबाट बालबालिकाहरूको व्यवहार परिवर्तन गर्दै अनुशासित र देशभक्त नागरिक उत्पादनको आधार तयार पार्न आठ ओटा विषय क्षेत्र निर्धारण गरेर पाठ्यक्रम तयार पारिएको हो ।

‘विषय क्षेत्रका क्रमअनुसारका उपलब्धि साथै सक्षमताहरू पाठ्यक्रममा राखिएको छ । स्थानीय पाठ्यक्रम निर्माणमा सम्बन्धित व्यक्तिहरूको राय सुझाव अन्य स्रोत सामग्रीहरूको अध्ययन, भ्रमण तथा पाठ्यक्रम निर्माणमा संलग्न व्यक्तिहरूसँग छलफल, अध्ययन र विमर्शबाट पाठ्यक्रम तयार गरिएको हो’, अध्यक्ष आचार्यले भने, ‘पाठ्यक्रम निर्माण समिति यसको अन्तिम प्रयोगकर्ता विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबाट आउने सकारात्मक सुझावहरू सङ्कलन गरी चालु शैक्षिक सत्रमा परीक्षणका रूपमा कार्यान्वयन गरेका छौँ ।’ सुरुवातमा प्रत्येक विद्यालयमा केही पाठ्यपुस्तकहरू पठाइएको र कार्यान्वयनका क्रममा आएका समस्या र सुझावको आधारमा पाठ्यपुस्तक पर्याप्त मात्रामा वितरण गरिने उनको भनाई छ ।

गाउँपालिकाले तयार पारेको पाठ्यक्रममा जलजला गाउँपालिकाको परिचय, पर्यटन स्थानीय, धार्मिक तथा ऐतिहासिक स्थलहरू, स्थानीय पेसा, व्यवसाय, प्रविधि र उद्यम, स्थानीय प्राकृतिक स्रोत र वातावरण संरक्षण, कला, संस्कृति, मेला र चाडपर्व, खानपान, रहनसहन, सकारात्मक व्यवहार, सरसफाइ, स्थानीय सेवामूलक सङ्घ संस्था तथा समाजसेवी व्यक्तिहरू र दुर्घटना, प्राकृतिक प्रकोप र विपद् गरी आठ ओटा क्षेत्र निर्धारण गरेर पाठ्यक्रम तयार पारिएको हो ।

गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यका अनुसार परीक्षण काल अवधिमा सम्बन्धित शिक्षकले पाठ्यक्रमको आधारमा खोज, सोध, अध्ययन र स्व सङ्कलित स्रोत सामग्रीहरू विद्यार्थीहरूलाई उपलब्ध गराई शिक्षण सहजीकरणको प्रयास गरिने छ । ‘हाम्रो जलजला नामक स्थानीय पाठ्यक्रम, २०७९ निर्माण गरेर नमुनाका रूपमा विद्यालयमा पठाएका छौँ । अब शिक्षकहरुले पनि विषयवस्तु तयार पारेर पाठ्यक्रम अनुसार शिक्षण क्रियाकलाप चल्ने छन्’ उनले भने, ‘शिक्षकहरुले सङ्कलन गर्नुभएका विषयबस्तुहरुलाई समावेश गरेर पाठ्यपुस्तक तयार गर्ने तयारी छ।

हामीले यसको कार्यान्वयनको लागि प्रबोधिकरण पनि गरिसकेका छौँ ।’ शैक्षिक सुधारका लागि गाउँपालिकाका ४४ ओटा विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादनको मूल्याङ्कन गर्नको लागि २७ बुँदामा सम्झौता समेत गरिएको छ ।
नेपालको संविधानले नेपाली नागरिकलाई मातृभाषामा शिक्षा लिन पाउने अधिकार दिएको छ । शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली २०५९ ले प्राथमिक तहसम्म मातृभाषामा शिक्षा प्रदान गर्न सकिने भनेको छ ।

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १–३) तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ (कक्षा ४–५) ले प्राथमिक तहमा १०० पूर्णाङ्कको स्थानीय विषय÷मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीय स्तरबाट निर्माण गरी प्रयोग गर्न सकिने व्यवस्था मिलाएको छ । आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले कक्षा ६–८ मा मातृभाषा÷स्थानीय विषय÷संस्कृत वा अन्य विषय एक सय पूर्णाङ्कको स्थानीय स्तरबाट निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पनि कक्षा एक देखि आठसम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारूपले स्थानीय आधुनिक पेसा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ ।
स्थानीय प्रविधि, पेसा, संस्कृति, परम्परा लगायतलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरी अध्यापन गर्नुपर्नेमा अहिले पनि केन्द्रीय रूपमा तयार भएको पाठ्यक्रमकै प्रयोग धेरै ठाउँमा हुने गरेको छ । स्थानीय तहहरूले शैक्षिक क्षेत्रमा कम ध्यान दिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->