बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाँदरबाट बाली जोगाउनै मुस्किल

बाँदरबाट बाली जोगाउनै मुस्किल

खेतमा मात्रै नभइ घरभित्रैसम्म ‘बाँदर आतकं’ छिरेको छ ।


  • संजय रेग्मी
  • जेष्ठ १२ २०८०, शुक्रबार

पर्वत/ जिल्लाको पैयुँ गाउँपालिकाका मुकुन्द गौतमले सामाजिक सञ्जाल ‘फेसबुक’ मा घोगा नलाग्दैका मकैका बोट बाँदरले लुछलाछ पारेको तस्वीर पोस्टयाए । अनि उनले लेखे, ‘अहिले नै चैट पारेसी भदौसम्म के खानी रैछन र बरै यी बाँदरहरुले ? फाइदा र बेफाइदा दुईटै बनाएर गए । फाइदा झिसमिसेमै ममीले कान्छा जा त बाँदर आयो कि हेरेर आइज भन्नी समस्या आजैका दिनदेखि टाढा भएको छ ।’

उनले बेफाइदाका रूपमा पहारिलो पाखामा राम्रो हुन्छ भनेर जमिन ‘लिज’ मा लिएर मकै खेती गरेको जग्गा फेरि बाँझिने, मकैसँगै लहरे बालीको रूपमा फल्ने सिमी र बोडीको अभावले आयातित दालमा वर्ष बिताउनुपर्ने र घाँसको अभावमा पालिएका चौपाया पनि बिक्री गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

गौतमले लेखेजस्तै जिल्लाका अधिकांश कृषकहरूले भोगिरहेको साझा समस्या ‘बाँदर आतंक’ हो । गाउँबाट बसाइँसराइ गरेर सहरी क्षेत्रमा जाने क्रम नरोकिँदा बस्ती रहेको गाउँसम्मै झाडी र वनको विकास भएको छ । अहिलेसम्म गाउँमै धानिएकाहरूले जसोतसो खेतीपाती गर्दै आएको भए पनि गाउँ छाडेर गएकाहरूले उत्पादनयोग्य खेतमा पालेका रुख र झाडीका कारण खेतमा मात्रै नभइ घरभित्रैसम्म ‘बाँदर
आतकं’ छिरेको छ । ग्रामीण क्षेत्रमा बाक्लो बस्ती रहेको बेलामा सबै कृषकले खेतीपाती गर्दा वन्यजन्तुलाई आहाराको अभाव नहुने अवस्था थियो । तर खेतबारीबाट उत्पादन गर्नुभन्दा आयातित सामग्रीमा नै
निर्भर हुने अभ्यास बढ्दै जाँदा बाँदरले घरभित्रै छिरेर अन्नपात खाइदिएका उदाहरण धेरै ठाउँमा छन् ।

फलेवास नगरपालिका–४ मुडिकुवाकी जानकी गौडेलले खेतमा लगाएको बाली सखाप पारेपछि झ्यालबाट छिरेर बुकुरो (मकैको कुन्यू) बाटै मकै चोरेको बताइन् । ‘खेतबारीमा बाँदर लखेट्न गयो टेर्दैन, उल्टै झम्टेला जस्तो गर्ने नि ! खेतबाट लखेटेर वनतिर जाला भन्दा झन् घरतिर जान्छ । त्यसलाई भेट्टाएर लखेटौँला भन्ने कुरो छैन’, उनले भनिन्, ‘अहिले नपसाएको मकै समेत च्यातेर छोडेको छ । घोगा लागेको मकै भए पनि त भोक मेट्थ्यो । घरभित्रै छिरेर मकै लान्छ, हैरान पारेको छ ।’

नियमित रूपमा खेतीपाती हुँदै आएका ठाउँहरूमा पनि ‘बाँदर आतंक’ कै कारण खेतीपाती गर्न छोडिएको छ । युवा शक्ति कि त वैदेशिक रोजगारीमा छ कि त रोजगारीका लागि बजारतिर वा अन्यत्रै गएको छ । वृद्ध अवस्थामा पुगेको पुस्ताले खेताला खोजेर खेती लगाए पनि त्यो पुस्ताले बाँदरको पछि लागेर बाली जोगाउन सक्दैन । ऋण धन गरेर लगाएको खेती नै बाँदरले खानुभन्दा बरु बजारबाट किनेर खान सस्तो पर्ने आवाज पनि धेरै सुनिन्छन् ।

विगतमा धेरै खेतीपाती हुँदा सबैको अलिकति अलिकति खाँदा कृषकलाई खासै क्षति हुने गरेको थिएन । सबैले खेतीपाती गर्ने र जग्गा बाँझो नरहने गरेकाले बाँदरले पनि बन जङ्गल आसपासमा रहेको बालीमा क्षति पु¥याउने गरेको थियो । तर, आजभोलि घर आसपासमै वन बनेपछि बाँदरलाई बस्तीमा जान सजिलो भएको छ ।

बाँदर नियन्त्रणको लागि हुन सक्ने प्रयासको बारेमा कुरा गर्दा जिल्लाको फलेवास नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले बाँदरको पूर्ण नियन्त्रण नहुने तर क्षतिलाई कम गर्न स्थानीय र राष्ट्रिय रूपमा योजनाहरूको निर्माण गरिनुपर्ने बताए । बस्ती र उत्पादनयोग्य भूमिमा रहेका रुखहरू काट्ने र राज्यले माथिबाटै बाँदर नियन्त्रणका लागि गर्न सकिने उपायलाई नीतिगत रूपमा निर्णय र कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

‘बाँदरको समस्या पूर्ण रूपमा समाधान त हुँदैन । तर कृषक वा हामीले अनावश्यक रुख काट्ने काम गर्न सक्छौँ । राज्यले माथिबाटै नीति र कानुन बनाएर यसको नियन्त्रणका उपायमा ध्यान दिनैपर्छ’, तिवारी भन्छन्, ‘बाँदरलाई नियन्त्रणमा लिएर बन्ध्याकरणको उपाय अपनाउन सकिन्छ । स्थानान्तरणको उपाय हुन सक्छ । बस्ती र अनुत्पादक रुखहरू काट्नुपर्छ । बाँदरले जुन बाली खान्छ कृषकले सकेसम्म त्यो बाली नलगाई उसलाई मन नपर्ने बाली वा फलफूल लगाएर पनि एउटा उपाय अपनाउन सकिन्छ ।’

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापा पनि आफूहरू अनुगमनमा गएको बेलामा कृषकहरूले वर्तमान बजेटमा कृषिमा समेटिएका कुराको बारेमा चासो राखेको बताउँछिन् । जिल्लाका लगभग सबैजसो स्थानमा बाँदरले बालीनाली सखाप पार्ने गरेका कारण सेवा लिन कार्यालयमा आउने सेवाग्राहीले पनि बाँदर नियन्त्रणको विकल्पबारे सोचिदिन आग्रह गर्ने गरेको उनको भनाई छ ।

‘यति बेला गाउँ गाउँमा जाँदा बजेटमा कृषिका लागि के के शीर्षकमा बजेट आएको छ भन्ने बारेमा कृषकहरूले निकै चासो राखेको पाइयो । बाँदर आतंकको बारेमा त कृषकहरूले जहिले पनि गुनासो गर्दै आउनुभएको छ, यो राष्ट्रिय समस्या बनेको छ,’ उनले भनिन्, ‘बजेटमा बाँदर नियन्त्रण गर्ने भन्ने त्यस्तो शीर्षक त तोकेर आएको छैन । तर, कृषि क्षेत्रलाई प्राथमिकतामा आएको बजेटले कृषि र कृषकलाई प्रोत्साहन मिल्छ । अबको लगानी व्यावसायिक कृषिमा हुनुपर्छ ।’

पर्वतमा खेतीयोग्य जमिन २८ हजार पाँच सय हेक्टर रहेको र त्यस मध्येको १६ प्रतिशत अर्थात् चार हजार पाँच सय हेक्टर जमिन बाँझो रहेको ज्ञान केन्द्र कार्यालयको तथ्याङ्क छ । उत्पादन योग्य जमिनमा बढी खेतीपाती बर्खा याममा हुने गरेको भए पनि हिउँदमा भने सिँचाइ, बाँदर लगायतको समस्याका कारण कम खेती हुने गरेको छ । धान मुख्य बाली भएका कारण कृषकहरूले जसोतसो धान रोपे पनि अन्य बालीमा बेवास्ता गरेका कारण पनि हिउँदमा ५० प्रतिशत जति जमिन बाँझो रहने गरेको कार्यालय प्रमुख थापाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->