बागलुङ/ इमेज वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले समस्या समाधानका लागि सहजीकरण गरिदिन जिल्ला सहकारी संघ बागलुङसंग माग गरेका छन् ।
बचतकर्ताहरुको तर्फबाट गठित संघर्ष समिति र जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरुबीच शनिबार भएको छलफलमा संघका तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्नका लागि माग गरिएको हो ।
इमेज सहकारीले बागलुङका धेरै वचतकर्ताहरुको रकम जोखिममा पारेको छ । रकम फिर्ताका लागि वचतकर्ताहरुले ६ महिनाको समय थप गर्न सहमति जनाउँदै समस्या समाधान गर्न सहजता प्रदान गर्दा पनि संस्थापक अध्यक्ष देव कुमार नेपालीलगायत सञ्चालकहरु सम्पर्कविहिन भएका कारण समस्या भएको संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले बताए ।
उनले देवकुमार नेपालीलगायत संस्थासँग सम्बन्धित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन संघर्ष समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भन्दै जिल्ला सहकारी संघका तर्फबाट सल्लाह सुझावसहित समन्वयकारी भूमिका निभाइदिन आग्रह गरेका थिए ।
जिल्ला सहकारी संघले सुरुवातदेखि नै सहजीकरण गरिरहेको भएपनि अध्यक्षलगायत सञ्चालकहरु सम्पर्कविहीन भएपछि समस्या आएको हो ।





