पोखरा/ सरकारले मुस्ताङको आलु प्रवद्र्धन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा प्रवद्र्धनको घोषणा गरेसँगै मुस्ताङको स्वादिलो आलुले बजार पाउने र यसको ‘ब्राण्डिङ’ हुने सम्भावना बढेर गएको छ ।
कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा वार्षिक ९ हजार ५ सय टन आलु उत्पादन हुन्छ । उनका अनुसार मुस्ताङका सबैजसो मानव बस्ती भएका सबैजसो ठाउँमा आलु खेती हुन्छ । हाल त्यहाँको ३१२ हेक्टरमा मात्र आलु खेती भइरहेको उनले बताए । ‘ यहाँ व्यक्तिको नाममा असाध्यै कम जग्गा छ, जसले गर्दा आलु र अन्य खेती बिस्तारमा समस्या छ,’ उनले भने,‘सरकारी स्वामित्वमा रहेको जग्गालाई भाडामा दिने व्यवस्था गर्न सकिएमा खेती बिस्तार हुन्छ ।’ बस्ताकोटीका अनुसार त्यहाँ उत्पादन हुने आलु उन्नत जातको नै हो । ‘पहिला बाहिरबाटै बीउ ल्याएर आलु खेती सुरु गरिए पनि अहिले बीउ नै रैथाने भइसकेको छ, उच्च हिमाली भेगको भएकाले स्वादिलो हुनु यसको विशेषता हो,’उनले भने ।
ज्ञान केन्द्रले खेती बिस्तारलाई प्राथमिकता दिएको सुनाउँदै उनले मुस्ताङको लागि आधुनिक जातको आलुको बीउ अनुसन्धान, ब्राण्डिङ र बजारीकरण आवश्यक भएको बताए । उनका अनुसार यो वर्ष किसानहरुले आलुको राम्रो मूल्य पाएनन् ।अघिल्लो वर्ष मुस्ताङमै ६० रुपैयाँ प्रति किलोग्राममा बिक्री भएको आलुको भाउ यो वर्ष ४५ रुपैयाँमा झ¥यो । ‘यहाँको आलु ग्रेडिङ गरेर,प्याकेजिङ गरे बजारको समस्या हुँदैन,’ उनले भने, हामीले आलु खेती प्रोत्साहनको लागि खेती बिस्तारमा नै जोड दिएका छौँ । डडुवा रोगका मुस्ताङमा समस्या छैन तर जलवायू परिवर्तनले पोहर र अहिले पानी बढी परेको छ ।
त्यसले केही समस्या निम्त्याएको छ । मलखाद पनि सर्पोट गर्छौं । प्राङ्गारिक मलमा अनुदानमा दिन्छौँ ।’ गण्डकी नीति तथा योजना आयोगले २०७५ सालमा सार्वजनिक गरेको स्थितिपत्र अनुसार २०७४ सालमा २ हजार ५७४ मेट्रिक टन आलु उत्पादन भएको थियो । उत्पादित आलु मुस्ताङकै जनतालाई भाग लगाउँदा एउटालाई मेट्रिक छन हुन आउँथ्यो । मुस्ताङको जस्तै स्वादिलो आलुको लागि चिनिएको बागलुङमा २४ हजार २६९, म्याग्दीमा ११ हजार १०१ र मनाङमा ५ हजार ६५१ मेट्रिक टन आलु उत्पादन हुन्छ । २०७८ सालको जनगणना अनुसार मुस्ताङमा १४ हजार ४५२ जना नागरिक बसोबास गर्छन् । खेतीयोग्य जग्गाको बाँडफाट गर्दा त्यहाँ एउटा व्यक्तिको भागमा ५.३ रोपनी जग्गा पर्छ ।
घरपजोङ र थासाङ तथा लोमान्थाङको को १ देखि ५ नम्बर वडा,बाह्रगाउँ मुक्तिक्षेत्रको १ देखि ४,लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको १ देखि ५ सम्मलाई आलु पकेट क्षेत्र घोषणा गरिएको छ । मुस्ताङमा ३ लाख ५६ हजार ३२१ हेक्टर जमिन रहेकोमा खेतीयोग्य जमिन एक प्रतिशतमात्र रहेको छ । व्यक्तिको नाममा जग्गा नहुँदा खेतीयोग्य जमिन कम देखिएको हो । गण्डकीमा प्रतिव्यक्ति उपभोग्य आलु आवश्यकताभन्दा २१ किलोग्राम बढी देखिन्छ तर सम्बन्धित जिल्लामा मात्र खपत गरिएको अवस्थामा कास्कीमा केही मात्रामा अपुग र तनहुँ र नवलपुरमा उल्लेखनीय मात्रामा अपुग देखिने नीति तथा योजना आयोगले जनाएको छ । मुस्ताङको आलु लोकप्रिय रहे पनि त्यहाँ खाद्यान्नको भने अभाव नै छ । खेतीयोग्य जमिनमध्ये ७९.५ प्रतिशतमा अहिले खेती गरिरहेको अवस्था छ । खेतीयोग्य जमिनमध्ये २०.५ प्रतिशत जमिन बाँझो छ भने ८७ प्रतिशत जमिनमा बाह्रै महिना सिंचाइ सुविधा रहेको छ ।





