पर्वत / कृषि ज्ञान केन्द्र कार्यालय पर्वत गण्डकी प्रदेश मातहतका कार्यालयहरूमध्ये गण्डकी प्रदेशमा नै सर्वोत्कृष्ट बनेको छ । गत फागुन चार गते प्रदेश स्थापना भएको दिवसको अवसर पारेर छनोट भएको कार्यालयलाई हालै पोखरामा भएको एक कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले नगद ६० हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको हो ।
२०७७ सालमा पनि प्रदेश मातहतका कार्यालयहरूमध्ये प्रदेशमा उत्कृष्ट बनेको ज्ञान केन्द्रले उच्च वित्तीय प्रगति, समूह कार्य, सेवा प्रवाहमा चुस्तता र प्रभावकारिता, पारदर्शिता, नियमितता, सुशासनका औजारहरूको उच्चतम प्रयोग, शून्य बेरुजु, कार्यालय सरसफाइ, सेवाग्राही प्रतिको व्यवहार लगायतमा उत्कृष्ट हुँदै कार्यालय उत्कृष्ट बनेको हो ।
‘छनोटका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयहरूबाट सूचकहरू तयार गरेर स्थलगत रूपमा नै अनुगमन हुने गरेको छ । उहाँहरूले अंक प्रदान गर्नका लागि गरेको मापदण्डमा परेपछि मात्रै प्रतिस्पर्धा हुने हो’, कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापा भन्छिन्, ‘हामीले पहिले पनि उत्कृष्ट भएर राम्रो गरेका छौँ । अहिले पनि भएका छौँ, अब फेरि पनि यही बाटोमा अगाडि बढ्ने हो । यसले हामीलाई कार्यसम्पादनको थप बल गर्न प्रेरणा दिएको छ ।’
प्रदेश सरकारका योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी र रूपमा कार्यान्वयन गर्न र गराउन, नागरिकले पाउने सेवालाई गुणस्तरीय, विश्वसनीय, पारदर्शी, मितव्ययी, छिटोछरितो र सर्वसुलभ बनाउन तथा कार्यालयलाई चुस्त दुरुस्त, नागरिकमैत्री, जबाफदेही र व्यवस्थित बनाउन प्रोत्साहित गर्न नमुना कार्यालय छनोट गरी पुरस्कृत गर्ने गरिएको छ ।
कार्यालय छनोट गर्नका लागि सेवा प्रवाह र कार्यप्रतिको अवस्थामा ४०, आर्थिक अनुशासनमा ३०, भौतिक संरचना र कार्यालय व्यवस्थापनमा १२, नवीनता र सृजनशीलतामा १४ तथा कर्मचारी अनुशासन र आन्तरिक नियन्त्रणमा ४ अंक गरी कुल एक सय पूर्णाङ्कमा कार्यालयहरूको मूल्याङ्कन गरिएको थियो ।
कार्यालयको सिफारिस गर्नको लागि प्रमुख सचिव संयोजक रहेको पाँच सदस्यीय सिफारिस समिति निर्माण गरिएको छ । जसको सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ मन्त्रालयका सचिव कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव रहेका छन् ।
सिफारिस समितिको आधारमा प्रदेश सरकारले मन्त्रालय तथा प्रदेशस्तरकाका एक र प्रत्येक जिल्लाका कार्यालयहरूमध्येबाट एक नमुना कार्यालय छनौट गर्ने व्यवस्था रहेको छ । नमुना कार्यालयको रूपमा छनोटमा परेका कार्यालयहरूले प्रदेश सरकारबाट पुरस्कार स्वरूप तीस हजार रुपैयाँ नगद सहित प्रमाणपत्र पाउँछन् । सोही समितिले नमुना कार्यालयहरूमध्येबाट सर्वोत्कृष्ट नमुना कार्यालय छनौट गर्ने गरेको छ । सर्वोत्कृष्ट बनेको कार्यालयले थप ३० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था अनुसार कृषि ज्ञान केन्द्र पर्वतले ६० हजार रुपैयाँ पुरस्कार पाएको हो ।





