पर्वत/ गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको ३ दिने समुदाय खोज तथा उद्दारसम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षण गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थको प्रमूख आतिथ्यतामा भएको थियो । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुबाट भुकम्प, आगोलागी तथा खोचमा खसेका घाईते तथा मृतकहरुको खोज तथा उद्दारसम्बन्धी सिमुलेशन प्रदर्शन र सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
आम नागरिकहरूले त्यस्ता विपद्को समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बिच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले बताए । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगा थापाको संचालन रहेको कार्यक्रममा सिमुलेशन अभ्यासको विषयमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले प्रस्ट पारेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवेदी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक खडकबहादुर खत्री , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरीक्षक सुमन तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।





