पोखरा / फेवा फाँटलाई सिमसार भनिए पनि पोखरा महानगरले आवास र कृषि प्रयोजन भनेर छुट्याएपछि स्थानीय आक्रोसित बनेका छन । महानगरले कोहीलाई काखा कोहीलाई पाखा गरेको भन्दै उनीहरुले महानगरविरुद्ध आन्दोलन गर्नेसम्मको तयारी गरेका छन । कुनै जग्गालाई आवास र कुनैलाई कृषि भनेर छुट्याइ केही व्यक्तिहरुले धमाधम जग्गामा माटोले पुरेर प्लटिङ गरेपछि वर्षायाममा पानी जमेर खेतीगर्न समेत नमिलेको उनीहरुको भनाइ छ ।
स्थानीय कुृलप्रसाद तिमिल्सिनाले वर्षौंदेखि भोगचलन गर्दै आएको फेवाफाँटमा गत वर्षदेखि खेतीपाती गर्न नसक्ने अवस्थामा पुगेको बताए । केही व्यक्तिहरुले जग्गा पुरेर प्लटिङ गरेसँगै होंचो भागमा पानी जमेर पोखरी बन्ने गरेको उनको भनाइ छ । प्लटिङसँगैको जग्गा पुरेर खेती गर्न पाउनु्पर्ने उनको माग छ । त्यही माग लिएर महानगरमा जाँदा जग्गा सिमसारमा पर्ने भएकाले पुर्न नमिल्ने भन्दै फर्काइएको उनले गुनासो गरे ।‘वर्षायाम सुरु हुन लाग्यो,अब हाम्रो जग्गा डुवानमा पर्छ,पोखरीमा धान रोप्न सक्दैनौँ बरु महानगरविरुद्ध आन्दोलन गर्छौैं,’ तिमिल्सिनाले भने ।
फेवाफाँटमा तिमिल्सिना जस्ता दुई दर्जन स्थानीयको जग्गा प्लटिङकै कारण डुवानमा परेको छ । उनीहरुको गुनासो एउटै छ– प्लटिङ गरेको उचाइ बराबर माटोले पुरेर खेती गर्न पाउनुपर्छ । स्थानीय निर्मला तिमिल्सिनाले आफ्नो जग्गा प्लटिङकै कारण डुबानमा परेको भन्दै पटकपटक महानगरमा गुनासो गरे पनि स्ुनुवाइ नभएको बताइन् । महानगरले एउटै कित्ताको जग्गामा कोहीलाई काखा र कोहीलाई पाखा पार्दै स्थानीयलाई दुःख दिएको उनको आरोप छ । ‘सँगैको सँधियार जग्गामा प्लटिङ गर्न पाउने हामीले प्लटिङकै कारण डुबानमा परेको जग्गा पुरेर खेती गर्छु भन्दा नपाउने कस्तो नियम हो ?,’उनको आक्रोश छ ।
स्थानीय देवीलाल लामिछानेले पुस्तौदेखि भोगचलन गर्दैै आएको प्राकृतिक रुपमा भएको आफ्नो भूमिमा प्लटिङकै कारण धानखेती गर्न नपाएको गुनासो गरे । ‘पुर्जा एउटै भएपनि महानगरले फरक फरक नीति लागू गर्दा फेवाताल पुर्ने मतियारको रुपमा चित्रित गरिएको उनको दुखेसो थियो । मालपोत कार्यलय कास्कीका प्रमुख रामचन्द्र अधिकारीका अनुसार महानगरले एउटै ठाउँको जग्गा वर्गीकरणमा कृषि र आवास बनाइदिएको बताए । स्थानीय तहले जग्गा वर्गीकरण गर्न सक्ने तर फेवा सिरानमा सिमसार भन्ने शब्द नै नराखिएको उनले जानकारी दिए ।




