बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वेदवेदाङ्ग पाठशालालाई प्रज्ञाः नेपालको सहयोग

वेदवेदाङ्ग पाठशालालाई प्रज्ञाः नेपालको सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८०, सोमबार

पर्वत / पर्वतको कुश्मा नगरपालिका–४ गुप्तेश्वर गुफा नजिकै रहेको गुप्तेश्वर वेदाङ्ग संस्कृत पाठशालामा २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । आवासीय रूपमा बस्दै आएका उनीहरूको दैनिकी भने सहज छैन । विद्यालयका लागि सरकारले दिने आर्थिक अनुदान आवासको लागि हुँदैन। यही कारण वर्षौँदेखि तिर्खालु, समाजसेवी, सामाजिक संघ संस्थाको आर्थिक तथा भौतिक सहयोगमा जसोतसो विद्यालय धानिँदै आएको छ ।

वेदाङ्ग संस्कृत पाठशाला निकै कम हुँदा वेदाङ्ग सम्बन्धी अध्ययन कम हुँदै गएको बेलामा भएका पाठशालाहरू पनि समस्याग्रस्त अवस्थामा रहेकाले सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको प्राज्ञ नेपालले करिब एक लाख बराबरका विभिन्न सामग्रीहरू पाठशालालाई सहयोग गरेको हो ।

‘विद्यालयको आर्थिक अवस्था नाजुक भएको बारेमा हामीलाई थाहा भयो। यहाँ आएर विवाह, व्रतबन्ध, श्राद्ध लगायतका धार्मिक क्रियाकलाप गर्नेहरू दिएको सहयोगले पाठशाला चलेको रहेछ’, सहयोगी संस्था प्रज्ञा नेपालका अध्यक्ष सन्तोष हमाल भन्छन्, ‘पाठशालाको कोषमा रहेको सामान्य कोषबाट त्यहाँ भएका विद्यार्थीहरूलाई राखेर अध्यापन गराउन समस्या छ । मर्दा र पर्दा हामीलाई वेदकै आवश्यकता पर्ने तर त्यही वेदको अध्ययन गरेर बसेकाहरू समस्यामा रहेको कसरी देख्न सक्ने ?’

दैनिक बन्दोबस्तका सामग्रीअन्तर्गत फर्निचर, भाँडा र ग्याँसको समस्या देखिएपछि प्लाइ, टेबल, ओढ्ने ओछ्याने, ह्याङ्गर, ग्यास चुल्हो सेट, प्रेसर कुकर थाल कचौरा लगायतका सामग्रीहरू सहयोग गरिएको हो । संस्कृततर्फ कक्षा छ सम्मको पढाइ हुने गरेको विद्यालय चन्दा र सहयोगको भरमा चल्दै आएको पाठशालाका प्रधानाध्यापक गोविन्द आचार्यले बताए । अहिले पनि झापा, बर्दियालगायतका ठाउँका विद्यार्थीहरु अध्ययनरत रहेका उनले बताए ।

प्रज्ञा नेपालका सचिव ठाकुर रसाइलीका अनुसार संस्थाको आयोजनामा गएको गत जेठ २७ देखी २९ गते सम्म अनन्त श्रीविभुषित जगतगुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य सिद्धबाबाको सान्निध्यमा वैदिक सनातन हिन्दु धर्ममा नारीवाद तथा हिमालयन सिद्धमहायोग साधना, वैदिक भजन प्रतियोगिता साथै महिलाहरूका लागि सेनेटरी प्याड निर्माण तालिम समेत सम्पन्न भएको छ ।

वेदका करिब २५ प्रतिशत ऋचा (श्लोक) हरू महिलाले नै रचना गरेको भए पनि गलत बुझाइका कारण अहिलेको समयमा समेत महिलाले वेद छुन नै नहुने मान्यता रहनु गलत भएको भन्दै प्रवचन र भजन प्रतियोगिताको आयोजना गरिएको थियो । वेद छुन नहुने भन्नु एउटा प्रथा रहेको जस्तै समाजमा महिलाका विरुद्धमा धेरै प्रथाहरू रहेकोले तिनीहरूको अन्त्यका लागि वैदिक महिला सशक्तीकरणको आवश्यकता रहेको हमाल बताउँछन् ।

कार्यक्रममा प्रथम पुरस्कार ५० हजार रुपैयाँ रहेको भजन प्रतियोगिताको पनि आयोजना गरिएको छ । भजनका माध्यमबाट वेद र शास्त्रमा रहेका कुराहरूको बारमा जानकारी गराएर महिला सशक्तीकरणको प्रयास गर्नका लागि भजनको आयोजना गरिएको हो । महाभारत र रामायणमा महिलाको बारेमा उल्लेख गरिएका कुराहरूबारे जनतालाई सुसूचित गराउने शब्द रचना गरिएको भजन प्रतियोगिता राखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->