मुस्ताङ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मार्फामा शाखारहित सेवा सुरु गरेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रमा शाखासहित बैंकिङ्ग सेवाको शुभारम्भ बैंकका जोमसोम शाखा प्रमुख उपेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैंकले मुस्ताङ घरपझोङ गाउँपालिका वडा २, मार्फामा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । बैकंले जोमसोमकी सुनमाया पुर्जा थकालीलाई ब्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
उक्त सेवा संचालनमा आएसंगै बैंकको शाखारहित सेवा संख्या १०५ पुगेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सुनमायालाई प्रतिनिधि नियुक्त गरिएको हो ।
उक्त कार्यक्रममा घरपझोङ गाउँपालिका वडा २ का वडा अध्यक्ष मान बहादुर हिराचन, महेश थकाली, शीतोष्ण बागवानी विकास केन्द्रका सन्तोष कुमार सिहं, अधिकृत प्रेम नाथ आत्रीय लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।
बैंकले व्यवसायिक प्रतिनिधिलाई स्थानियस्तरमा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण समेत उपलब्ध गराएको छ ।
‘व्यवसायिक प्रतिनिधिले बैंकले उपलब्ध गराएको विद्युतीय उपकरणको माध्यमबाट स्थानीय ग्राहकहरुलाई नगद कारोवारसंग सम्वन्धित खाता खोल्न, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिने, खाता ब्यालेन्स सोधपुछ र खाता विवरण प्रिन्टिङका काम गर्नेछ’ गौतमले भने, ‘एक खाता बाट अर्को खातामा रकम स्थानान्तरण, कर्जाको साँवा तथा व्याज असूली, विजुलीको विल भुक्तानी, व्यापारी भुक्तानी, मोवाईल फोनको रिचार्ज सेवा तथा अन्य बैंकले तोकेका सेवाहरु उपलब्ध गराउनेछ ।’
बैंकले स्थापनाकाल देखि नै ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहँुच पु¥याउने उद्धेश्यले सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको गौतमले बताए ।
शाखारहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपुर्ण औजारको रुपमा रही आएको उनको भनाइ छ । हालसम्म नेपाल इन्भेष्टमेण्ट मेगा बैंकल २९६ वटा शाखा, १०५ वटा शाखारहित बैंकिङ्ग सेवा, ६१ वटा एक्सटेन्सन काउण्टर र २८१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आगमी योजना देशभर फैलाउने रहेको छ ।





