पर्वत/ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम–२०८०’ सुरुवात गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको संयुक्त आयोजनामा कार्यक्रमको सुरुवात गरिएको हो । सामान्यतः राजमार्ग, बजार क्षेत्र तथा पक्की सडकहरूमा दुर्घटना बढी हुने भएकाले ती क्षेत्रमा केन्द्रित रहँदै आएको ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि यो कार्यक्रमको सुरुवात गरेको हो । मङ्गलवार जलजला गाउँपालिका–७ मिलन चोकमा रहेको महिला सुधार आमा समूहको सभा हलमा आयोजना गरिएको औपचारिक कार्यक्रमकाबीच कार्यक्रमको शुभारम्भ गरिएको छ ।
ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र संलग्नतालाई प्रोत्साहन गर्ने, ग्रामीण क्षेत्रमा सवारी चलाउने सवारी चालकहरूलाई जिम्मेवार बनाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्ने, ग्रामीण इलाकाका यात्रुहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने, ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको यान्त्रिक अवस्थालाई दुरुस्त राख्न प्रेरित गर्ने, दुर्घटना न्यूनीकरण र रोकथामका लागि सहकार्य गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक प्रयोगकर्ताहरू माझ अनुशासनको भावना जगाउने ग्रामीण सडक पूर्वाधारको विकासमा विभिन्न निकायहरूलाई सहयोग र सल्लाह दिने कार्यक्रमका उद्देश्य रहेका छन् ।
कार्यक्रमको सुरुवात गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले ग्रामीण क्षेत्रमा समेत बढ्दै गइरहेको सवारीहरूको चापले ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गइरहेको बताए । पर्वत ट्राफिकले सवारी नियमको कार्यान्वयनका लागि गर्दै आइरहेको प्रयास प्रशंसनीय रहेको भन्दै उनले अब ग्रामीण क्षेत्रलाई पनि प्राथमिकतामा राखेर अनुगमनको आवश्यकता रहेको औँल्याए । सहरी क्षेत्रमा चल्ने सवारीहरूले कागजपत्र तथा सवारीको अवस्थामा ठिक अवस्थामा राख्ने गरेको भए पनि ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नरहँदा त्यसमा लापरबाही गरिएको हुन सक्ने उनको भनाई छ ।
ट्राफिक प्रहरी प्रमुख निउरेले जिल्लामा दुर्घटना न्यूनीकरण तथा सडक सचेतना सम्बन्धी ज्ञान वृद्धिका लागि आफूहरूले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेर सुसूचित गराउने प्रयास भइरहेको बताए । सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति असम्भव हुने भएकाले सडक तथा सवारीका नियमहरू मान्नु असल नागरिकको कर्तव्य भएको उनको भनाई छ । त्यसमा पनि ट्राफिक प्रहरीले चलाउने गरेका अभियान र कारबाहीहरू आम नागरिकको पक्षमा हुने भएकाले त्यसमा सघाउनु सबैको जिम्मेवारी रहेको उनले बताए ।
एक महिनामा सात दिन गरेर तत्कालका लागि तीन महिनाका लागि सञ्चालन हुने कार्यक्रममा कुल २१ दिनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत इकाईबाट कार्यक्रमहरू समेतमा सञ्चालन गरिने छ । आषाढ पाँचदेखि ११ गतेसम्म, साउनको सातदेखि १३ गते सम्म र भदौको १० गतेदेखि १६ गतेसम्म कार्यक्रम सञ्चालन हुने छ । ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक÷सवारी सुरक्षा थप मजबुत हुने, जनधनको क्षति न्यूनीकरण हुने, ट्राफिक प्रहरी र सवारी चालक÷परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने, ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने लगायतका प्रतिफलहरू कार्यक्रमबाट प्राप्त हुने ट्राफिक प्रहरीको विश्वास छ ।
ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनयता जिल्लामा भएका कुल १९ ओटा दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।





