बागलुङ/ हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकाले २९ करोड ८६ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आईतबार १३ औं गाउँसभामा उपाध्यक्ष छयुमी बिष्ट गुरुङले आगामि आर्थिक बर्षको बजेट पेश गरेकी हुन् । गाउँसभाले बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।
कृषि पर्यटन, स्वास्थय र रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिकाले बजेट ल्याएको हो । हिमाली बालीहरुको संरक्षण र हिमाली पशुको प्रबद्र्धनलाई बजेटले सम्बोधन गरेको छ ।
गाउँपालिकाले लोमन्थाङको पर्यटन व्यवसायमा सवैको पहुँच पुग्ने गरि कार्यक्रम सञ्चालन गर्ने, पर्यटक सुचना केन्द्र तथा दिशार्निदेशन पार्टी निर्माण गर्ने र होटेलहरु विस्तारको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने भएको छ । सिँचाइ नपुगेको ठाउमा सिचाइको व्यवस्था गर्ने, वाझो जग्गा नहुने गरि प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने नीति बजेट पूर्व गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । उच्च तथा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थिहरुलाई छात्रबृती प्रदान, परम्परागत तथा धार्मिक विद्यालयको ज्ञान सिप र क्षमता विकासमा प्रोत्साहन
गर्ने र स्थानिय भाषा र लोपोन्मुख संस्कार –संस्कृतीको संरक्षण गर्न कार्यक्रम ल्याईने अध्यक्ष गुरुङले बताए । स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्ने र ‘कोहि विरामी नहुन, विरामी भएर कोहि नमरुन’ कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे ।





