बागलुङ/ मुस्ताङको थासाङ गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ३६ करोड ६८ लाख ४५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाका उपाध्यक्ष समोल हिराचनले उक्त बजेट गाउँसभामा प्रस्तुत गरेका हुन् । गाउँपालिकाले कृषि, पशु सेवा, पर्यटन जस्ता क्षेत्रको विकासको लागि विविध कार्यक्रमहरु प्रस्ताव गरेको छ ।
बाँझो जग्गामा खेती, निजी तरकारी नर्सरी तथा करेसाबारी स्थापना तथा पशु बीमामा प्रिमियम अनुदानका कार्यक्रमका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । गाउँपालिकाको गौरवको रूपमा रहेको प्रशासकीय भवन निर्माणको लागि तीन करोड रुपैयाँ विनियोजन भएको छ ।
गाउँपालिकाले सामाजिक विकासतर्फ ३ करोड ३६ लाख ८० हजार, पूर्वाधार बिकासका लागि ८ करोड ११ लाख ६५ हजार, आर्थिक बिकासका लागि एक करोड ६० लाख, सूशासन तथा संस्थागत विकासका लागि ७ करोड ३१ लाख ५० हजार, वन तथा वातावरण तथा विपत् व्यवस्थापनका लागि १७ लाख ५० हजार र विधेयक समितिका लागि ११ लाख रुपैयाँ विनियोजन गरेको छ ।





