बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जलजलाको गाउँ सभा : विधि नपुगेको भन्दै एमालेको विरोध, प्रहरीले रोक्यो कुर्ची प्रहार

जलजलाको गाउँ सभा : विधि नपुगेको भन्दै एमालेको विरोध, प्रहरीले रोक्यो कुर्ची प्रहार


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८०, शुक्रबार

पर्वत / जिल्लाको जलजला गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्य प्रस्तुत गर्ने गरी आयोजित १४ औँ गाउँ सभामा झन्डै कुर्ची प्रहारसम्मको स्थिति उत्पन्न भएको छ ।

असार १० गते नै बजेट प्रस्तुत गर्ने तयारी रहेको भए पनि स्थानीय तहको सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ६ को उपदफा १ बमोजिम गणपूरक सङ्ख्या नपुगेको भन्दै अधिवेशन नै रोकिएको थियो । ४७ जना गाउँ सभासद् रहेको जलजला गाउँपालिकाले बोलाएको गाउँ सभामा १९ जना सदस्य मात्रै उपस्थित भए । गाउँपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित २७ जना जना गाउँ सभा सदस्य बैठकमा अनुपस्थित भएका कारण गणपूरक सङ्ख्या पुगेन ।

नेकपा एमाले र नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरूबिच आपसी सहमति जुट्न नसकेपछि १२ गतेका लागि बोलाइएको बैठकमा पनि एमालेका सबै सदस्यहरू उपस्थित भएनन् । उक्त बैठकमा पनि कोरम नपुगेपछि गण्डकी प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत २५ प्रतिशतले पनि नीति तथा कार्यक्रम र बजेट ल्याउन सक्ने प्रावधानलाई टेकेर बिहीबार गाउँ सभाको बैठक आव्हान गरेको थियो । बैठक सुरु भए लगत्तै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले औपचारिक बोल्न थालेपछि एमालेका सदस्य तिलक जी.सी.ले आफ्नो कुर्चीबाट उठेर गाउँ सभा विधिसम्मत रूपमा नचलेको भन्दै वाचन गरे। बजेट प्रस्तुत गर्नु पूर्व आवश्यक छलफल नगरी प्राविधिक रूपमा तयार पारिएको बजेटलाई सिधै गाउँ सभामा लैजान खोजेको उनीहरूको तर्क छ ।

‘स्थानीय तह सञ्चालन ऐन अनुसार बजेट तयार गर्न विभिन्न चरणहरू पूरा भएको हुनुपर्छ । त्यहाँका व्यवस्थाहरूलाई नजरअन्दाज गरी विषयगत समितिमा छलफल नै नगरी प्राविधिक हिसाबले मात्रै मिलाई अल्पमतले अगाडि बढेकोले सभा बहिष्कार गरिएको हो’, उनले थपे, ‘नियमानुसार कार्यपालिकामा दफावार छलफल गरी त्यहाँबाट अनुमोदन नभएसम्म सभा अगाडि नबढाउन अनुरोध गर्दछौँ । बलजफती गरेमा र हाम्रो अनुरोधलाई कमजोरीको रूपमा लिएमा यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार सभाध्यक्ष ज्यू नै अवगत गराउँछु ।’

त्यसपछि गाउँपालिकाका अध्यक्ष आचार्यले उनीहरूले बोलेको कुरामा आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रदेश सरकाले बनाएको ऐन अनुसार गाउँपालिकाले गाउँ सभाको आयोजना गरेको बताए । तेस्रो पटक बसेको १४ औँ गाउँ सभा बैठक अगाडि पटक पटक औपचारिक र अनौपचारिक रूपमा छलफल भएकोले विरोधका लागि विरोध नगर्न उनले अनुरोध गरे । गाउँ सभा अवरोध गर्दा गाउँपालिकाभित्रका विकास निर्माणदेखि शिक्षक तथा कर्मचारीहरूको तलब निकासा लगायतका कामहरू हुन नपाएको भन्दै गाउँ सभाको प्रक्रियामा सबै एक बन्नुपर्ने उनको भनाई थियो । सभा हलभित्र रहेका सदस्यहरूले आचारसंहिता अनुसारको व्यवहार प्रस्तुत गर्न अध्यक्ष आचार्यले नकारात्मक हर्कतहरु नगर्न अपिल गरे । सबैको हातमा किताब पुगेपछि गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले वक्तव्य वाचन गर्ने उनले सुनाए ।

तर पनि एमालेका सदस्यहरूले विधिसम्मत रूपमा गाउँ सभा नगएको भन्दै गाउँ सभालाई अगाडि नबढाउन अनुरोध गरे । अध्यक्ष आचार्यले विधिभन्दा बाहिर गएको त्यसलाई नियमन गर्ने निकायहरू रहेको बताउँदै बैठकमा असामान्य हर्कतहरु नदेखाउन अनुरोध गरे । बैठकमा अनुपस्थित हुने लगायतका क्रियाकलापहरू गरेमा नियमानुसार कारबाहीको प्रक्रिया पनि चल्ने सक्ने उनको चेतावनी थियो। तर पनि एमालेका सदस्यहरूले विगतका बजेटका समीक्षा नभएको, आवश्यक छलफल हुन नपाएको लगायतका कुराहरूमा समस्या रहेको बताए ।

विगतमा पनि भइरहेका विवाद र यस पटक पनि तेस्रो प्रयास रहेकाले गाउँ सभा बैठकमा गाउँपालिकाले प्रहरी पनि उपस्थित गराएको थियो । एमालेका सदस्यहरू सुरक्षाकर्मी उपस्थित गराएर जबरजस्ती सभा सञ्चालन गर्न खोजेको दाबी गरे । एक पक्षले बैठक रोक्नुपर्ने र अर्को पक्षले बैठक सञ्चालन हुनुपर्ने अडान चलिरहेकै थियो । गाउँ सभाको बैठकमा सुरक्षाकर्मी उपस्थित गराउने काम नियम बाहिरको भएको भन्दै एमालेका सदस्यहरूले विरोध गरे ।

अध्यक्ष आचार्यले बैठक अगाडि बढाउने प्रयास गर्दा एमालेका एक जना सदस्य सरासर अगाडि बढेर अध्यक्षको अगाडी रहेको माइक्रोफोन तान्ने प्रयास गरेपछि झगडा सुरु भयो । लगत्तै अगाडि पुगेको प्रहरीले कागज खोस्नबाट जोगायो । बैठक अगाडि बढाउन नहुने भन्दै मञ्चको अगाडि तल्लो भागमा बसेका एमालेका सदस्यहरू भुईँमा रहेका कुर्चीहरू उठाएर प्रहार गरे। भुईँमा रहेका कुर्चीहरू यत्रतत्र छरिए । बैठक हलमा टाँसिएका ध्वजापताका पनि च्यातच्युत पारिए । विरोधमा उत्रिएका एमालेका सदस्यहरूले पटक पटक मञ्चतर्फ जाने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । हलमा निकै बेर चर्को आवाजमा होहल्ला चल्यो । प्रहरीको कसरतले कसैलाई पनि चोटपटक भने लाग्न पाएन ।
प्रहरी सभा स्थलमा प्रवेश गरेको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बढी नै तनावग्रस्त भएपछि सामान्य पार्नका लागि प्रहरीले सहजीकरण गरेको बताए । उनले भौतिक क्षति मात्रै नभई मानवीय क्षति समेत हुने अवस्था सिर्जना भएपछि प्रहरीले समन्वय गरेको जानकारी दिए ।

विषयगत शाखामा कुनै पैसा नै नराख्ने, माथिबाट आएको पैसा जति वडालाई भाग लगाएर बाँड्ने भन्ने माग एमालेका सदस्यहरूले राखेको अध्यक्ष आचार्यले बताउँदै आएका छन् । ‘गाउँपालिकाबाट कार्यक्रम बनाउन पर्दैन, सबै कार्यक्रमहरू हामी वडाबाट नै बनाउँछौँ भन्ने संविधान विपरीतको माग उहाँहरूले गर्नुभएको छ’, उनले भने, ‘विषयगत समितिमार्फत गाउँपालिकाले दायित्व बोक्ने हो । तर विषयगत समितिमा बजेट नै नराख्ने भन्ने यो कस्तो माग हो ? भएको पैसा भाग लगाएर वडामा पठाउने हो भने कृषि, शिक्षा, स्वास्थ्य लगायतका शाखाले निरन्तर रूपमा गर्दै आइरहेका कामलाई कसरी सञ्चालन गर्ने ?’

आवश्यक पर्ने प्राविधिक गाउँपालिकामा राखेर कामको जिम्मा गाउँपालिकालाई दिएको अवस्थामा भए जतिको बजेट वडामा पठाउन नसकिने आचार्य बताउँछन् । गाउँपालिकामा रहेका विषयगत शाखा र समितिबाट योजना बनाएर त्यसलाई सभा छलफल गरेर पारित गरेपछि योजनालाई वडा–वडामा लगेर कार्यान्वयन गर्नुपर्नेमा जहिले पनि रोक्ने, अल्झाउने, कार्यपालिकाको बैठक पनि समयमा हुन नदिने गरेर गाउँपालिकाको गतिमा अवरोध गर्ने मनसायपूर्ण नियतले समस्या भइरहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->