बागलुङ/पर्यटन व्यवसायलाई प्रर्वद्धन गरेमा रोजगारी सिर्जना भइ युवा पलायन रोक्न सकिने सरोकारवालाले बताएका छन् । उनीहरुले पर्यटन लगायतका सबै व्यवसायमा प्रविधिको प्रयोग गर्न सकेमा सफलता कायम गर्न सकिने समेत धारणा राखेका छन् ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान), बागलुङ उद्योग बाणिज्य संघ र महिला उद्यमी समूहको आयोजनामा शुरु भएको दुइ दिने पर्यटन प्रवद्र्धन तथा डिजिटल अभिमूखिकरण कार्यक्रमका सहभागिले प्रविधिमैत्री व्यवसाय गर्न नसके असफलता मात्रै पाइने बताएका हुन् ।
पछिलो समय ९५ प्रतिशत नागरिकले प्रविधि चलाउने भएकोले व्यवसायलाईपनि प्रविधिमा ढाल्नुपर्ने निष्कर्ष निकालिएको टेवानकी अध्यक्ष कमला गिरीले बताइन् । उनले आम नागरिकको पहुँच अब भौतिक उपस्थितिमा नहुने भएकोेले डिजिटल प्रविधि प्रयोग गर्नुको बिकल्प नभएको बताइन् । पोखराका पर्यटन व्यवसायीले यो अभ्यासलाई अधिकतम प्रयोगमा ल्याइसकेको भन्दै बागलुङका व्यवसायीले पनि प्रयोग गर्नुपर्ने सुझाव दिइन् ।
गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा प्रविधि चलाउने उमेदवारले पाएको मत अन्यको तुलनामा दोब्बर भएको भन्दै व्यवसायपनि प्रविधिबाटमात्रै बढी चल्न सक्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा टेवानकी संस्थापक लक्की कार्की, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, टेवानकी उपाध्यक्ष सरिता बराल लगायतले पर्यटन प्रवद्र्धनमा डिजिटल विधिको उपयोगबारे बोलेका थिए । कार्यक्रम टेवानकी महासचिव अनिता खड्काले संचालन गरिन् ।
दुइ दिने अभिमूखीकरण कार्यक्रममा पारस देवकोटा र उज्वल अधिकारीले सहजीकरण गरेका थिए । बागलुङका होटल व्यवसायी सहित सबैखाले व्यवसायी कार्यक्रममा सहभागि छन् । उनीहरुले नवप्रवद्र्धन गरेर व्यवसाय बढाउन डिजिटल विधिनै उपयोगी भएको बताए । टेवानले गरेको अध्ययनमा अहिले नेपालमा ९५ प्रतिशत नागरिकको हातमा मोवाइल र इन्टरनेटको पहुँच पुगेको छ । पत्रपत्रिकामा छापिएका ७३ प्रतिशत बिज्ञापन समेत उपभोक्ताले डिजिटल विधिबाट हेर्ने गरेका छन् ।





