बागलुङ/ साहित्यकार विष्णुनाथ गौतमको कवितासङ्ग्रह ‘अन्तध्र्वनी’को विमोचन भएको छ । रमादेवी गौतमले प्रकाशन गरेको उक्त पुस्तकको विद्यामन्दिर पुस्तकालय, साहित्य उपसमितिले बिमोचन गराएको हो ।
विद्यामन्दिर पुस्तकालय बागलुङमा आयोजित बिमोचन कार्यक्रममा प्राज्ञ प्रेम छोटाले पुस्तक बिमोचन गरे । बागलुङकै साहित्यकार रामप्रसाद सुवेदीले पुस्तकमाथि समीक्षा गरेका थिए ।
लेखकले सहज हिसाबले बुझ्ने गरी प्रकृति, रुख बिरुवा र स्थानहरुको चर्चा गर्दै बिभिन्न विषयलाई कविताको माध्यामबाट पुस्तकमा समेटेका छन् । सामुदायिक वन, पशुपन्छीबाट फाइदा, जमिनको संरक्षण कसरी गर्ने रु पिपलका गुण, कृषक, तरकारी, शरद ऋतु वर्णन, पवित्र संस्था रेडक्रस, राष्ट्रसेवक, भानुभक्तको जीवनी, बनको इतिहास, सहकारीको औचित्य लगायतका बिषय पुस्तकमा समावेश गरेको गौतमले बताए ।
‘उहाँले वातावरणलाई सजिलो हिसाबले बुझाउने गरी पुस्तकमा कविताहरु समावेश गर्नुभएको छ,’ पुस्तकबारे समिक्षा गर्दै सुवेदीले भने ‘आफु जन्मेको माटो र आफ्नो कर्मलाई समेत पुस्तकमा उतार्ने प्रयास भएको छ ।’ लामो समय निजामती सेवा गरेका गौतमले बन र वनस्पतीको परिचय सहजै दिनसक्ने उनले बताए ।
कार्यक्रममा प्राज्ञ प्रेम छोटाले पाश्चात्य संस्कार मौलाईरहेका बेला नेपाली साहित्यमा नयाँ खुराक आएको बताए । साहित्य समाजको चित्र भएको भन्दै उनले समाजलाई सहि दिशा दिन कविताका माध्यमबाट गौतमले प्रयास गरेको चर्चा गरे ।
बरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठले गौतमको कविता सङग्रह पठनीय रहेको चर्चा गरे । कार्यक्रम विद्यामन्दिर पुस्तकालय साहित्य उपसमितिका संयोजक राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष रामजी प्रसाद शर्माको स्वागत र कोषाध्यक्ष कोपीला कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।





