बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ओरालो लाग्दै पर्वतको जनसंख्या

ओरालो लाग्दै पर्वतको जनसंख्या


  • संजय रेग्मी
  • असार २४ २०८०, आइतबार

पर्वत / दश वर्षको अवधिमा पर्वत जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको छ ।
राष्ट्रिय जनगणना, २०७८ सालको पर्वत जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्याङ्क सहायक सुरेन्द्रराज पौडेलले २०६८ सालको जनगणना र २०७८ सालको जनगणनाको १० वर्षे अवधिमा पर्वतमा माइनस १।०९ प्रतिशत बृद्धिद्धर रहेको बताए ।

पछिल्ला तीन पटक भएका जनगणनाको तथ्याङ्कलाई हेर्दा हरेक पटकको गणनामा जनसंख्या घट्दै आइरहेको देखिएको हो । २०५८ सालमा एक लाख ५७ हजार आठ सय २६ रहेकोमा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो । २०७८ सालको गणनामा भने झनै घटेर एक लाख ३० हजार आठ सय ८७ कायम भएको छ । वृद्धिदर हेर्दा २०५८ सालमा ०।९५ प्रतिशत वृद्धिदर रहेकोमा २०६८ मा ०।७४ प्रतिशत रहेको रहेको थियो । जनसंख्या कम भएसँगै जनघनत्व पनि घटेको छ । प्रति वर्ग किलोमिटरमा २०५८ मा तीन सय १९, २०६८ मा दुई सय ९७ र २०७८ मा दुई सय ६५ जना बसोबास गरेको देखिएको छ ।

सातवटा स्थानीय तह रहेको पर्वतमा ती सबै स्थानीय तहको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । बिहादी गाउँपालिकामा सबैभन्दा धेरै २।०५ तथा जलजला गाउँपालिकामा ०।१५, कुश्मा नगरपालिकामा ०।३७, महाशिला गाउँपालिकामा १।८७, मोदी गाउँपालिकामा १।१९ र फलेवास नगरपालिकामा १।८० प्रतिशत वृद्धिदर ऋणात्मक रहेको छ ।

२०७८ सालको तथ्याङ्क अनुसार बिहादीमा १० हजार आठ सय २८, जलजलामा २१ हजार एक सय १९, कुश्मामा ३८ हजार एक सय एक, महाशिलामा आठ हजार एक सय ३६, मोदीमा १८ हजार सात सय ९४, पैयुँमा १२ हजार सात सय ७५ र फलेवासमा २० हजार चार सय ६८ जनसंख्या रहेको छ । होस्टल, इन्स्टिच्युट वा ब्यारेकमा बस्दै आएकाहरूलाई संस्थागत जनगणना भनी राखिएको छ । पर्वतमा त्यस्तो जनसंख्या नौ सय २३ रहेको देखिएको छ ।

जिल्लामा पुरुषको कुल संख्या ६१ हजार छ सय ७८ र महिलाको संख्या ६९ हजार दुई सय नौ रहेको छ । तथ्याङ्क सहायक पौडेलका अनुसार जिल्लामा कुल परिवार संख्या ३६ हजार एक सय ३७ रहेको पाइएको छ भने परिवारको औसत आकार ९परिवारमा सदस्य संख्या ० ३।६२ देखिएको छ । तर २०६८ सालको गणनामा परिवारको औसत आकार ४।१ रहेको थियो। यो तथ्याङ्कले सन्तान कम जन्माउने वा संयुक्त परिवार भन्दा एकल परिवारमा बस्ने रुचाउनेहरूको संख्या बढी भएको देखिएको छ ।

जिल्लाका ३६ हजार एक सय ३७ परिवारमध्ये ११ हजार सात सय ७२ परिवारबाट कम्तीमा पनि एक जना विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । ती परिवारबाट दुई हजार ती सय ३२ जना महिला र १४ हजार एक सय १४ जना पुरुष गरी कुल १६ हजार चार सय ४६ जना वैदेशिक रोजगारीमा रहेको देखिएको छ । यस्तै चार हजार दुई सय ५९ जनामा अपाङ्गता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क अनुसार पाँच वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता प्रतिशत देशभरमा ७६।२ प्रतिशत रहेकोमा पर्वतमा भने ८०।१२ प्रतिशत रहेको छ ।

राष्ट्रिय रूपमा हेर्ने हो भने पनि २०७८ को जनगणनामा जनसंख्या वृद्धिदर घटेको पाइएको छ । २०५८ सालमा २।२५, २०६८ सालमा १।३५ वृद्धिदर रहेकोमा २०७८ मा ०।९२ प्रतिशत रहेको छ । तर राष्ट्रिय रूपमा पनि जनघनत्व बढ्दै गएको छ । प्रति वर्ग किलोमिटरमा बसोबास गर्नेहरूको संख्या २०५८, २०६८ र २०७८ मा क्रमशः एक सय ५७, एक सय ८० र एक सय ९८ रहेको छ ।

यस पटक भएको जनसंख्या देशको १२ औँ जनगणना हो । यस पटकको गणना ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सञ्चालन गरिएको थियो । जनगणनाका लागि तथ्याङ्क सूचीकरणको काम २०७८ भदौ ३० देखि असोज १८ सम्म भएको थियो भने तथ्याङ्क सङ्कलनको काम २०७८ कात्तिक २५ देखि मंसिर नौ गतेसम्म भएको थियो ।

जनगानाबाट प्राप्त भएको तथ्यलाई सामाजिक तथा आर्थिक अवस्था थाहा पाउन, जनसंख्याको प्रक्षेपण गर्न, कृषि गणना तथा अन्य सर्वेक्षणमा नमूना छनोट गर्न, विकासका लक्ष्य मापन गर्न लगायतका क्षेत्रमा प्रयोग गर्ने गरिएको छ । २०७८ सालको मुख्य विशेषतामा सङ्घीय संरचनाको पहिलो जनगणना, पूर्ण गणना, सामुदायिक प्रश्नावलीको प्रयोग, सम्पूर्ण घरको प्रयोजन सहितको गणना, करारका गणक तथा सुपरिवेक्षकबाट तथ्याङ्क संकलन र स्थानीय तह र वडा अनुसारको नतिजा प्रकाशन रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->