पर्वत / पर्वतको मोदी गाउँपालिका–५ बाजुङका ईश्वरीप्रसाद आचार्यलाई आजभोलिको भन्दा वर्षांै अगाडिको खेतीपाती गर्ने चलन राम्रो लाग्छ । पछिल्लो समय समूहमा वा अर्मपर्म गरेर खेतीपाती गर्ने प्रचलन हराउँदै जाँदा आर्थिक बोझ थपिँदै जाँदा जग्गा बाँझो छोड्नुपर्नेसम्मको अवस्था आइसकेको उनको अनुभव छ ।
‘आजभोलि त जे काम गर्न पनि पहिले पैसा अघि सार्नुपर्छ । आफूले गर्ने काम त गरिन्छ तर अरू मान्छे पनि चाहिने भएमा पैसा भए काम गर्न सकियो नत्र त्यो काम गर्न सकिन्न,’ उनले भने, ‘अर्मपर्म गर्ने चलनमा पैसा नभए पनि काम गर्न सकियो । आज आफूकहाँ बोलाए भोलि उसकोमा गएर काम गरे भयो । पैसा नभएरै खेतीपाती लगाउन छोड्नुपर्ने अवस्था थिएन पहिले ।’
गाउँबाट बसाइँसराइ गरेर सहरमा जानु, काम गर्न सक्ने जनशक्ति वैदेशिक रोजगारीका कारण अर्मपर्म गर्ने प्रचलन घट्दै गइरहेको छ । पातलिँदै गएका ग्रामीण क्षेत्रमा रहेका परिवारमा काम गर्न सक्ने जनशक्ति छैनन् । काम गर्न सक्ने सक्रिय उमेर समूहका युवाहरू आन्तरिक तथा बाह्य रोजगारीका लागि घर छाडेर हिँड्नुपर्दा ग्रामीण क्षेत्रमा खेतीपातीको बेलामा समस्या हुने गरेको छ ।
पहिले जस्तो गोरु पाल्ने र परेली गर्ने (आर्थिक हिसाब नगरी काम सक्ने गरी दुई वा दुईभन्दा बढी परिवार मिलेर संयुक्त रूपमा काम गर्ने) प्रचलन पनि कम हुँदै जाँदा कृषकहरू अर्मपर्ममा भन्दा आर्थिक कारोबारकै माध्यमबाट खेती लगाउन बाध्य हुने गरेका छन् । तराई क्षेत्रमा केही ठूला ‘ट्याक्टर’ हरुले जोतेर खेतीपाती गर्ने गरेको भए पनि पहाडी क्षेत्रमा भने गोरुले नै जोतेर खेती लगाउने गरिएको थियो । तर पछिल्ला वर्षहरूमा कृषिलाई आधुनिक प्रविधिमा जोडेर व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्न भन्दै ‘मिनी टिलर’ हरूको प्रयोग बढिरहेको छ । कृषि ज्ञान केन्द्र, स्थानीय तह लगायतले पनि केही प्रतिशत अनुदान दिएर ‘मिनी टिलर’ कृषकलाई बाँडेपछि गाउँघरमा पालिने गोरु पहिले जस्तो देख्न पाईँदैन् ।
‘एक्लैले एक हल गोरु राखेर वर्षभरि पालेर हिउँद बर्खामा गरेर लगभग एक महिना जोत्नका लागि कठीन हुन्छ । तर, दुई परिवारले एक हल गोरु पालेर परेली गरेपछि आधा खर्चमा गोरु पाल्न सकियो । गोरुको मात्रै होइन खेताला र खेतालीको पनि पर्म लागिहाल्छ,’ जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक मुक्तिप्रसाद पौडेल भन्छन्, ‘अहिले ट्याक्टर लगाउने हो । सानो ट्याक्टर भए पनि मिनी ट्याक्टर भए पनि पहिले पैसा तयार पारेर मात्रै खेत जोत्न बोलाउनुपर्छ । जोतेर सकेपछि पैसा दिएर पठाउन परिहाल्छ ।’
जिल्लाका ग्रामीण क्षेहहरुमा ‘मिनी टिलर’ हरुले जोतेको दर/रेटमा समानता छैन । प्रतिघण्टाको सात÷आठ सय रुपैयाँदेखि लिएर १२/१३ सय रुपैयाँसम्म तिर्ने गरेको कृषकहरू बताउँछन् । ठुलो ‘ट्र्याक्टर’ ले जोतेको त प्रतिघण्टाको तीन हजार वा योभन्दा बढी पनि लिने गरेका छन् । गाउँमा गोरु नपाएको अवस्थामा कृषकहरू बाध्यतामा रहेरै ‘ट्र्याक्टर’ को प्रयोग गर्दै आइरहेका छन् । यसले लगानीको आधा खर्च पनि उठ्ने गरेको छैन । ‘ट्र्याक्टर’ को महँगो दर र महँगै खेताला र रोपार खोजेर धान रोप्दा कृषकलाई फाइदा नहुने तर आफ्नो जग्गा बाँझो देख्नु नपर्दा आत्मसन्तुष्टि भने मिल्ने गरेको कृषकहरू बताउँछन् ।
‘गाउँका मान्छे बजारमा झरे । गाउँमा कामको माचो भएको बेलामा पनि काम गर्ने मान्छे पाईँदैन् । काम गर्नेहरूको अभाव भएपछि जसले जति भन्छ उति नै ज्याला दिएर काममा बोलाउनुपर्छ । हिसाबै गरेर हेर्ने हो भने गाउँको यो उत्पादनमा लड्नुभन्दा आयातितले सस्तो पर्छ,’ कटुवाचौपारीकै अर्का कृषक विष्णु अधिकारी भन्छन्, ‘खेती लगाउँदा लगानी उठेन भनेर यति राम्रो जग्गा बाँझै राख्ने कुरा पनि भएन । यही समस्यामा रहँदा रहँदै पनि जसोतसो खेती लगाइएको छ ।’
गाउँ गाउँमा रहेका ‘मिनी टिलरहरु’ पेट्रोल र डिजेलबाट चल्ने गरेका छन् । पछिल्ला वर्षहरूमा पेट्रोलियम पदार्थमा भएको उच्च मूल्य वृद्धिका कारण ‘ट्र्याक्टर’ को जोताई प्रतिघण्टा महँगो हुँदै गइरहेको छ । त्यसमा पनि ‘मिनी टिलर’ हरू बिग्रिएमा तिनीहरूको मर्मत वा कुनै ‘पार्ट’ फेर्नुपर्दा पनि महँगो हुने भएकाले ‘ट्याक्टर’ ले जोत्दा त्यसको भाडा महँगो बनेको ‘ट्याक्टर’ राखेकाहरू बताउँछन् । ‘ट्याक्टर’ मा बढी नै समस्यामा आएको बेलामा जिपमा राखेर सदरमुकामका मर्मत केन्द्रहरूमा लैजाँदा पनि धेरै खर्च हुने भएकाले पनि यसको भाडा महँगो भएको उनीहरूको भनाइ छ ।





