बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाजेबज्यैको कथा, मेरो चित्र

बाजेबज्यैको कथा, मेरो चित्र


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८०, बिहिबार

बागलुङ/हजुरबुबा हजुरआमा सँग नाती नातीनीसँगै नबस्दा परंपरा, संस्कृति र ऐतिहासिक विषयहरु ओझेलमा परेको सामाजिक अगुवाले बताएका छन् । विद्यामन्दिर पुस्तकालयले रिड नेपालको सहकार्यमा बुधवारदेखि सुरु गरेको बाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रमका सहभागीले पछिल्लो समय पुस्ताबीचको सम्पर्क टुट्दा नेपाली परिवेश नै ओझेलमा परेको बताएका हुन् ।

बरिष्ठ बाल कथाकार धु्रवप्रसाद घिमिरेले बालबालिकाले पाको पुस्ताबाट केही सिक्न पाएनन् भने राष्ट्रको अस्तित्व संकटमा पर्ने बताए । उनले राष्ट्र बाँच्नका लागि कला, संस्कृति, इतिहासको कथा र गाथा पुस्तान्तरण हुनुपर्छ । माटो मात्र जोगिएर राष्ट्रियता नजोगिने उनले बताए ।

‘बसाइँ सराइसँगै हाम्रा ऐतिहासिक क्षेत्रका कथा पनि मेटिन थालेका छन्,’ उनले भने, ‘हाम्रो जाति, भाषा र धर्मले सिकाएका धेरै बिषयले हामीलाई धनी बनाएको हो ।’ जनैपूर्णिमा, चैतेदशै र बुद्ध जयन्तीका कथा बिर्सेर भ्यालेन्टाइन डेका कथा बुझ्ने पुस्ताले नेपालको सांस्कृतिक आन्दोलन असफल बन्ने अबस्थामा पुगेको उनले बताए । पश्चिमा संस्कृतिले मिच्दै नेपाली कला र संस्कृति बिर्सने अवस्था आएकोले रिड नेपालले ग्रामीण क्षेत्रका कथा संकलन गर्न लागिएको बताए ।

कार्यक्रममा रिड नेपालकी बरिष्ठ फिल्ड संयोजक बिना गोलेले शैक्षिक संस्थाको माध्यमबाट जोडिएर ग्रामीण क्षेत्रमा शिक्षा, कृषि, जीविकोपार्जन तथा महिला सशक्तीकरण जस्ता क्षेत्रमा काम गर्न लागेको बताइन् । हरेक क्षेत्रको गौरवको गाथालाई कथाको रुपमा उतारेर प्रचार गर्ने र त्यसबाट अहिलेको नयाँ पुस्तालाई चिनाउने काममा लागेको बताइन् । ‘अब हरेक टोल र घरघरमा हजुरबुबा हजुरआमा, बुबा र आमा समेतले छोराछोरी र नाती नातिनीलाई कथा बाचन गर्ने समय दिनुपछर्,’ उनले भनिन्,‘मन्टेश्वरी सिकाइलाई अभ्यासमा ल्याएजस्तै नेपाली संस्कृतिको पनि सिकाइ अब बिद्यालय तहमा पुग्नुपर्छ ।’ यस अघि दर्जन जिल्लामा पुगेर रिड नेपालले ती क्षेत्रको इतिहास, महत्व र त्यहाँको गाथालाई कथा बनाएर लिपीबद्ध बनाउने र बालबालिकालाई सुनाउने काम गरिसकेको उनले जानकारी दिइन् ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आफ्नै हजुरबुबा देख्न नपाउँदा कथा सुन्ने अबसर गुमाएको भन्दै छिमेकी हजुरबुबाबाट सिकेको काम र कथाले जीवनको राजनीतिक र सामाजिक यात्रा अगाडि बढाउन सकेको बताए । उनले सानो छँदा हजुरबुबाको चित्र कोरेर अनुमान गर्दै सम्झेको बताए । ‘कलाकालिकालाइ जोगाउन नगरपालिका पनि यस्ता संस्थासँग सहकार्य गर्न तयार छ’ उनले भने, ‘नगर शिक्षा शाखामार्फत् पाठ्यक्रम निर्माणमा पनि रिड नेपालको अनुभव साटासाट गर्छौ ।’ चित्रकारितालाई नगरपालिकाको नयाँ पाठ्यक्रममा जोड्ने उनले बताए ।

बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव राजनप्रसाद शर्माको संचालन र उपाध्यक्ष रामचन्द्र शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको पहिलो दिन बालबालिकाको दुइवटा समूह बनाएर कार्यशाला गरिएको थियो । एउटा समूहले पाका पुस्ताको कथा सुनेर लेख्ने अभ्यास गरेका थिए भने अर्को समूहले चित्रकारिता सिकेका थिए । चित्रकारितालाई कसरी शुरु गर्ने, के सन्देश दिने र कसरी चित्रकारितामा अभ्यस्त बन्ने भन्ने सिकाइएको थियो भने कथा समूहलाई बुढापाकाले सुनाएका कथा लिपिबद्ध गर्ने र त्यसलाई अन्तिम रुप दिने बारे सिकाइएको थियो । उनीहरुलाइ आगामी शनिवार पनि बोलाएर कथा र चित्रको अन्तिम स्वरुप दिने योजना बनाइएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->