
बागलुङ / सहकारीका बचतकर्ताको लाखौ रकम हिनामिना गरी ठगी गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजालसले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा राख्न विहिवार आदेश दिएको हो ।
इमेज सहकारीका १ हजार ४ सय ८१ जना बचतकर्ताले रु.१ अर्ब ३० करोड विगो दाबी गरी सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध जिल्ला अदालतमा ठगीको मुद्धा दर्ता गरेका थिए ।
सहकारीमा बचत खाता रहेका संस्थागततर्फ प्रभा माध्यामिक विद्यालय निसीखोला, पौदिटार आधारभूत विद्यालय वडिगाड, युनियन लाइफ क्लब बागलुङ, दुदिलाभाटी स्वास्थ्य चौकी गलकोट, भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लि.बागलुङ, कालिका सहकारी संस्था लि.बागलुङ, गलकोट बहुउद्देश्यीय सहकारी संस्था लि.बागलुङ, दुदिलाभाटी इङ्लिस बोर्डिङ स्कुल गलकोट र ब्यक्तिगततर्फ बागलुङ नगरपालिका-३ का लालचन्द्र राजभण्डारी, राजकपुर श्रेष्ठ, लोकेन्द्र केसी, टंकप्रसाद पन्त, भिमसेन प्रसाद श्रेष्ठ, बानपा-२ का मनोविज्ञान श्रेष्ठ, दयाराम पौडेल, सञ्जु प्रधान पालिखे, लेखबहादुर खड्का, दिल प्रसाद कँडेल, बानपा-८ का लक्ष्मी जिसी कार्की, बानपा-४ का आत्माराम पौडेल, बानपा-७ का मिनबहादुर कार्की, बानपा-१ का दुर्गाबहादुर कुँवर, कुश्मा नगरपालिका-१ का हिरामणी उपाध्याय, गलकोट नगरपालिका-३ का मञ्जु शर्मा चालिसे सहित १ हजार ४ सय ८१ जनाले असार २५ मा ठगीको मुद्दा दर्ता गरेका थिए ।
सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख ढोरपाटन नगरपालिका-१ वुर्तिवाङका देबकुमार नेपाली, गलकोट नगरपालिका-११ का रुपा विक, ढोरपाटन नगरपालिका-१ का डोरबहादुर परियार, ढोरपाटन १ का सुनिल नेपाली, सोही ठाउँका अनिल नेपाली, निसीखोला गाउँपालिका-२ बोहोरागाउँका झगबहादुर शाही र निसीखोला गाउँपालिका-१ का अनिता बुढा मगरको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
सहकारीका संचालक र कर्मचारीलाई ८ देखी १० वर्ष कैद सजायको माग दावीसहित मुद्दा दर्ता भएको जिल्ला न्याधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिए ।





