मुस्ताङ / बाढीले कागबेनीको प्रहरीचौकीसहित १० घर बगाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी कागबेनी बस्तीमा छिरेपछि १० वटा घर होटल, प्रहरी चौकी, जोमसोम कोरोला सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ ।
‘आइतबार साँझदेखि स्थानीय ठाडो कागखोलामा आएको बाढीले कागबेनी बस्तीमा बाढीले वितण्डै मच्चाएको छ । बाढीपहिरोले सडकमार्ग धेरै स्थानमा बिग्रेकोले हामी जोमसोमबाट कागवेनीतर्फ पैदल हिँडेका छौं । घटनास्थल पुगेर थप विवरण संकलन हुन्छ,’ प्रजिअ केसीले भने, ‘स्थानीय, प्रहरी र त्यहाँ पुगेका पर्यटकहरु रातभर सुरक्षित स्थलमा आकासमुनी रात बिताएका छन ।’
पक्की पुल बगाउँदा अपर मुस्ताङसँगको सम्पर्क टुटेको उनले बताए। मानिसहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएका कारण मानवीय क्षति हुन नपाएको उनले बताए ।
बाढीका कारण १५-२० घरको एक तलासम्म लेदोले भरिएका छन् भने १२-१५ घर उच्च जोखिममा रहेका छन् । अहिले तीन वटै सुरक्षा निकायका ७० जना उद्धार टोली र स्थानीयहरू उद्धारमा जुटेको प्रअिज केसील बताए ।
कागखोलामा बर्सेनि बाढी आउने भए पनि यसरी विध्वश निम्त्याएको पहिलोपटक देखेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरूङले बताए ।







तस्वीर: प्रमुख जिल्ला अधिकारी अनुप केसी/वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरूङ





