पर्वत/ मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी धाममा आइतबार साँझ आएको बाढीले त्यहाँका नागरिकलाई तर्साइरहेको छ । कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने काग खोलामा पहिरो झरेर थुनिएपछि एकाएक बढेर आएको खोला खोलाले आसपासमा रहेका घरहरू पूर्ण तथा आंशिक क्षति बनाएको छ । बाढीले स्थानीयको घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगायो ।
सायदै वर्षा हुने मुस्ताङमा हिम पहिरोका घटना हुने भए पनि खोलामा बाढी आउने कुरा स्थानीयले परिकल्पना गरेका थिएनन् । साँझको करिब सात बजेको समयमा एकाएक आएको बाढीले विध्वंस मच्चाउँदै ठुलो भौतिक क्षति गरेको छ । समयमा नै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका मान्छेहरूलाई गाँस र बासको समस्या भएको छ । घर सहित बन्दोबस्तका सामनहरु खोलाले बगाएपछि कागबेनीबासी समस्यामा छन् ।
गण्डकी प्रदेश सरकारले बाढी पीडित बनेका नागरिकलाई राहत सामग्री सहित उद्धार, उपचार र पुर्नस्थापना काम गर्न सुरु गरेको छ । घरहरू बगेर घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि प्रदेश सरकारले इन्धन पठाएर काम गरिरहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङकेट पठाउने, बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षण लगायतका कामहरू गर्न प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले निर्देशन दिइसकेको छ ।
तहसनहस भएको बस्ती हेर्दै पिडामा बसेका कागबेनीवासीहरूले भने जनश्रमदान र आर्थिक सहयोगको अनुरोध गर्दै कम्तीमा पनि बसाइलाई सजिलो बनाउने गरी पुनर्निर्माणका लागि लागेका छन् । पुर्नस्थापना लागि बाढी पीडितहरू स्वयं त खटेकै छन् । त्यो बाहेक मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरक फरक स्थानीय तह, जिल्ला समन्वय समिति लगायतले पनि सघाइरहेका छन् ।
घरबारविहीन भएकाहरूलाई पुनर्स्थापित गरेर उनीहरूको दुःखमा साथ दिनकै लागि आफ्नो गाउँको तर्फबाट जनश्रमदान गरेर बाढी ल्याएको लेदो फालेर घरलाई बस्न योग्य बनाउन खटिएको पुथङ एयरपोर्ट गाउँ समाजका सचिव पेमा छेतेनले बताए । पुथङ गाउँबाट कागबेनी सात किलोमिटर टाढाको दूरीमा रहेको भए पनि आफूहरू गाडीमा गएर जनश्रमदान गरेको उनको भनाई छ ।
‘हामी यहीँ भएकाहरूले जनश्रमदान गरेर घरहरूलाई बस्न लायकको बनाउनुपर्छ भनेर गाउँका करिब ७० घरहरूबाट एक/एक जना गएर काम गरेका हौँ’, उनले भने, ‘हाम्रो गाउँको तर्फबाट कागबेनीका लागि केही आर्थिक सहयोग गर्नुपर्छ भनेर तयारी गरिरहेका छौँ । घरबारविहीन भएकाहरूलाई समाज घरमा राखिएको छ । कोही आफन्तकोमा बस्नुभएको छ । सबै मिलेर उहाँहरूलाई पुरानै अवस्थामा ल्याउनु छ ।’
स्थानीय नागरिकहरूसँगै सुरक्षाकर्मीहरू पनि कागबेनीवासीको पुर्नस्थापनाको लागि दैनिक रूपमा खटिरहेका छन् । वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागबेनीको अवस्था सहज बनाउन के गर्न सकिन्छ भनेर आफूहरू दैनिक रूपमा लागिरहेको बताउँछन् । स्थानीय जनप्रतिनिधिसहित सांसदहरू बसेर बाढी पीडितका लागि गर्न सकिने विकल्पको बारेमा छलफल भइरहेको उनको भनाई छ ।
राहत तथा उद्धार कार्यमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागी सङ्घ, प्रदेश र स्थानीय सरकार, मातहतका निकाय लगायत सबै सरकारी तथा गैरसरकारी संघसंस्था, देश विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ । आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बैैकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’ को खाता नं. २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले बताएको छ ।
गत साउन २८ गते साँझ काग खोलामा एक्कासी आएको बाढीले कागबेनीका २९ वटा घर पूर्ण क्षति भएका छन् भने १३ वटा घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । दुई पाङग्रे १६ वटा र चार पाङ्ग्रे दुई वटा गरी १८ वटा सवारी साधन, एउटा एक्स्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेवल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीन वटा काठे पुल, एउटा सानो पक्की पुल, नौ वटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका छन् ।
यस्तै गाउँपालिका–४ को कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्ध स्थलको मन्दिर तथा आवास क्षेत्र समेत बगाएको छ । बाढीले कागबेनीका स्थानीयबासीहरुको भौतिक संरचनामा भएको विध्वंसले करोडौँ रुपैयाँको क्षति भएको गाउँपालिकाले बताएको छ ।





