शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गुमनाम ओलम्पियन

गुमनाम ओलम्पियन

‘माथि पुगेकाहरुले लाखौं तलब खान्छन्, खेलका प्रतिस्पर्धामा प्रशिक्षक बनेर चिनिन्छन्,चाकरी गर्न नसक्दा सन्यास लिएर गाउँ फर्किएकी हुँ ।’


  • प्रकाश बराल
  • भाद्र ४ २०८०, सोमबार

बागलुङ/ उनको इतिहास उनैलाई मात्र थाहा छ । सम्झेका, चिनेजानेकाहरुले पनि उनको इतिहास बिर्सन लागिसकेका छन् । पछिल्लो समय कपाल काटेर व्याइजकट बनाएकी छिन् । यो ‘गेटअप’ले उनलाई पछिल्लो पुस्ताको खेलाडी जस्तै चाहिँ देखाएको छ । कतिपयले अहिलेको हेयर स्टाइल देखेर खेलाडी हो भन्ने बुझ्दैछन् ।

कोठामा थुप्रिएका प्रमाणपत्र, शिल्ड र छरपष्ट मेडलले उनको जीवनका संघर्षका कथा भन्छन् । कतिपटक पुरस्कार पाइन्, कतिपटक मेडल र प्रमाणपत्र पाइन्, लेखाजोखा छैन । ती सबै सुरक्षित पनि छैनन् । कतिपय त कता हराइसकेका होलान् ! बागलुङ नगरपालिका–२ घर भएकी भगवती केसी सिड्नी ओलम्पिककी सहभागी खेलाडी हुन् । बेइजिङको एसियाली खेलकी उत्कृष्ट खेलाडी पनि । एसियाली खेलमा सुटिङमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सिड्नी ओलम्पिकमा पुगे पनि उनलाई व्यक्तिगत स्वास्थ्यले साथ दिएन । जसका कारण मेडल जित्न सकिनन् । तर पनि उनी जत्तिको सुटिङ खेलको उत्कृष्ट खेलाडी अझै जन्मेका छैनन् । चिन्नेहरु त्यसै भन्छन् ।

जिल्लामा हुने धेरै खेल प्रतियोगितामा उनको उपस्थिति हुन्छ तर दर्शकको रुपमा । केन्द्रमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि रहरले पुग्छिन् । बरु कसैलाई भेट्दिनन् । न उनले केन्द्रीय पदाधिकारीलाई वास्ता गर्छिन्, न त उनको पनि खोजी हुन्छ । सुटिङ खेलमा उनले कायम गरेको किर्तीमान भने अहिलेसम्म कसैले तोडेको छैन । तर, पनि रेकर्डवाला खेलाडी को होला भनेर कसैको सोधीखोजी छैन ।

देशकै प्रतिनधित्व गरेर एसियाको उत्कृष्ट खेलाडी बनिसकेकी केसीलाई खेल क्षेत्रले सम्मान गर्न सकेको छैन । न त राज्यले नै सम्झेको छ । उनलाई प्रशिक्षक वा रेफ्री तथा पदाधिकारीको अवसर प्राप्त भएन । बरु तत्कालीन राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीको दवावले सन्यास लिन बाध्य भएको तीतो अनुभव छ,उनीसँग । अहिले केसी महिला उद्यमी बनेर पहिचान फेर्न बाध्य छन् । सुस्त मनस्थितिका बालबालिका पढाउने र स्याहार्ने उनको अर्को काम थियो । खेलबाट बनेको ‘करिअर’मा खेल क्षेत्रका पदाधिकारी नै बाधक बनेपछि सन्यास लिनुपरेको केसीको दुखेसो छ ।

समकक्षीहरु देशको उच्च स्थानमा पुग्दा उनी जिल्लामै रमाएकी छन् । तर, गुनासो कम छ,उनीसँग । पुराना कुरा कोट्याउँदा मात्रै उनले वास्तविकता खोलेकी हुन् । कुनै नियुक्ति र पदको आशा मारेपछि गर्ने नै पो के हो र ? ‘माथि पुगेकाहरुले लाखौं तलब खान्छन्, खेलका प्रतिस्पर्धामा प्रशिक्षक बनेर चिनिन्छन्,’ उनले भनिन्, ‘चाकरी गर्न नसक्दा सन्यास लिएर गाउँ फर्किएकी हुँ ।’ राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीको दवाबले उनले सन् २००८ मा बागलुङ फर्केपछि पत्रकार सम्मेलन गरेर खेलजीवनबाट सन्यास लिएकी थिइन् ।

सन् २००० मा चीनको बेइजिङमा भएको एसियन खेल प्रतियोगितामा पनि केसी उत्कृष्ठ खेलाडी घोषित भएकी थिइन् । उत्कृष्ट कै नाताले एसियाली देशहरुको प्रतिनिधित्व गर्दै सिड्नी ओलम्पिकमा पनि पुगिन् । एसियन क्वालीफाइडको स्कोरमा उनले बिभा राईको त्यसअघिको किर्तीमान तोडेकी थिइन् । ४० सर्ट स्कोरको ४ सय अंकमा उनले ३८६ अंक ल्याएर एसियाली खेलाडीमा समेत उत्कृष्ट भएकी थिइन् । उनले त्यस अघिको रेकर्डमा १ नम्बर बढाएको बताइन् । एशियन खेलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण केसीले गोरखा दक्षिणबाहु पदकसमेत पाएकी छन् । आजकल पदकलाई राजनीतिक भागबण्डामा गनिन्छ । तर उनले त्यतिबेला खेलकै उत्कृष्ट प्रदर्शनको कारण पदक पाएकी थिइन् ।

ओलम्पिक खेलमा पदक जित्न नसकेको भन्दै तत्कालीन पदाधिकारीबाट उनले चर्को दवाब खेपिन् । गर्भवती अवस्थामा सिड्नी ओलम्पिक खेल्दा तनाव खेपिन् र पदक जित्न सकिनन् । ‘त्यो अवस्थामा भएको कमजोरीलाई पदाधिकारीले मलाई तनाब मात्रै दिए,’ केसीले भनिन्, ‘तनाब सहन नसकेर नेपाल फर्केपछि मैले खेलबाटै सन्यास लिएँ ।’ अहिले पनि उनले आफ्नै खर्चमा खिया लागेका हतियारमा केही युवालाई खेल सिकाउने काम भने गरिरहेकी छन् । ‘खिया लागेका हतियारले के सिकाउन सकिन्छ र ? तर पनि सकेको सहयोग गरेकी छु,’ केसी भन्छिन्, ‘राष्ट्रिय र साग खेलकुद प्रतियोगिता आउँदा दर्शक बनेर रंगाशाला पुग्छु र आफ्ना खेलाडीको क्षमता हेरेर फर्कन्छु ।’ केसी अहिले नेपाल सुटिङ संघ बागलुङको अध्यक्ष हुन् ।

सुटिङ संघका अनुसार बागलुङ र कास्कीका खेलाडी मात्र राष्ट्रिय खेलमा अझै पनि सक्रिय छन् । उनीहरुबाटै राष्ट्रिय टिम बन्ने गर्छ । केसीकै प्रशिक्षणमा खेलाडी बनेकाहरुलाई केन्द्रीय प्रतियोगितामा बोलाए पनि केसी परिषदको निम्तोमा समेत पर्दिनन् ।

सुटिङ खेलका लागि एयर राइफल, एयर गन र पेस्तोल चाहिन्छ । सुरक्षाको कारण देखाएर संघ र प्रशिक्षकलाई हतियार राख्न दिइँदैन । प्रशासनको अनुमति लिएर प्रशिक्षण अवधिका लागि मात्र हतियार दिने चलन छ । खिया लागेका र पुराना हतियारमा प्रशिक्षण गरेर पनि बागलुङका १५ खेलाडी राष्ट्रिय खेलमा पुगेको जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष धनबहादुर परियारले बताए । ‘केसी जिल्लामात्र नभइ नेपालकै सम्मानित खेलाडी हुन्,’ परियारले भने, ‘राष्ट्रले सम्मान गर्ने र प्रशिक्षक बनाएर राख्नुपर्ने हो, उहाँप्रति पदाधिकारी अनुदार छन् ।’ केसीका प्रशिक्षार्थीहरुले साग प्रतियोगितासम्म पुगेका छन् । ‘खिया लागेकै हतियारमा गरेको प्रशिक्षणबाट तोकिएको दूरीबाट गोली हानेर लक्ष्य भेटाउनु पर्छ,’ केसीले भनिन्, ‘आफ्नै स्कोरमा प्रतिष्पर्धा गर्ने सुटिङ खेल बौद्धिक र निरन्तरको अभ्यासबाट मात्र सफलता पाइन्छ ।’ सुटिङका प्रशिक्षक उपेन्द्र थापाले बागलुङ र कास्कीका खेलाडीको भरमा केन्द्रीय संघको अस्तित्व रहेको बताए । श्रीलंकामा भएको साफ च्याम्पियनसिपमा बागलुङकै अनिता श्रेष्ठले सुटिङको स्वर्ण पदक जितेकी थिइन् । श्रेष्ठसहित रायडाँडाकी सुशीला केसी, बागलुङकै केवी पुनजस्ता खेलाडी राष्ट्रिय टिममा सहभागी छन् । उनी सुटिङबाहेक कबड्डी, भलिबल र एथलेटिक्सको खेलाडीसमेत हुन् । उनले तीनवटै खेलमा राष्ट्रिय प्रतियोगितामा भाग लिएकी थिइन् ।

ढिलागरी स्थानीय सरकराले भगवतीको योगदानलाई सम्मान गरेको छ । बागलुङ नगरपालकाले मासिक ५ हजार भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाले गत जेठ ६ गते कार्यपालिका गठन भएको ३ सय ६५ दिन पुगेको दिन केसीलाई सम्मान गर्दै मासिक ५ हजार दिने उक्त निर्णय पनि सुनाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->