बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

कालीगण्डकीको बहाव दुई वर्षकै उच्च बिन्दुमा, शालिग्राम शिला डुब्यो

कालीगण्डकीको बहाव दुई वर्षकै उच्च बिन्दुमा, शालिग्राम शिला डुब्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८०, शुक्रबार

बागलुङ / लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ। नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताए।

उनले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताएका छन्। अहिलेको पानीको बहाव झन्डै दुई सय ८३ क्युसेक रहेको छ। यो यस वर्षकै सबैभन्दा बढी मापन हो।

यसअघि गएको साउनमा सात दशमलव ४० मिटरको बिन्दुसम्म पुगेको थियो। वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना रहेको उनले बताए।कालीगण्डकीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्।

पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका छन्।

बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ। पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले बताए।

शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिन पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि क्षति पुगेको छ। कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने छ।

बाँधका सबै ढोका भने खोलिएका छन्। कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका नागरिक त्रसित बनेका छन्।

विगत १४ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका थिए। विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए। उनले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिए।

स्थानीय प्रहरी चौकीका अनुसार अहिलेसम्म पनि पानीको बहाव उच्च छ। बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तलमुनिको सिँढीसम्म पानीको बहाव आइपुगे पनि खतरा भने बजारवासीलाई नरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->