म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो राजश्वको मुख्य स्रोत पर्यटकीय गन्तव्यस्थललाई बनाएको छ । पालिकाले रातोपानी, भुरुङ्ग र पाउद्वारमा रहेका प्राकृतिक तातोपानीका पोखरीहरु, पदमार्ग तथा प्रख्यात दृष्यस्थल पुनहिल, महरेडाँडा र खोप्रा लेकलाई राजश्वको मुख्य स्रोत बनाएको हो ।
चालु आर्थिक वर्षमा सार्वजनिक खरिद नियमावली ०७६ को नियम १३८, आय ठेक्का बन्दोबस्ती अनुसार अन्नपूर्ण गाउँपालिकाले १ करोड ३८ लाख ३१ हजार ४ सय रुपैयाँमा विभिन्न पर्यटकीय गन्तव्यमा ठेक्का लगाएको छ ।
अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने भुरुङस्थित तातोपानीको पोखरीमा आएका पर्यटकबाट प्रवेश शुल्क उठाउन तथा रेष्टुरेन्ट सञ्चालन गर्न उज्याला कन्स्ट्रक्सन (प्रदीप पुन) ले ५५ लाख ९ सय रुपैयाँमा ठेक्का पाएको छ ।
सोही पालिका-५ पाउद्वारबेंसीको तातोपानीमा पर्यटक प्रवेश शुल्क संकलन तथा रेस्टुरेन्ट सञ्चालन गर्न कालीगण्डकी रुफ टप रेष्टुरेन्टलाई २० लाख १९ हजार ५ सयमा ठेक्का दिइएको छ ।
अन्नपूर्ण चक्रिय पदमार्गको उत्कृष्ट गन्तव्य पुनहिल पुग्ने पर्यटकबाट प्रवेश शुल्क तथा पुनहिलमा कफीसप सञ्चालन गर्न ६३ लाख ११ हजारमा स्थानीय माइलो दाई होटल एण्ड रेष्टुरेन्टलाई ठेक्का दिइएको छ ।

पालिकाको आर्थिक ऐन २०८० ले पुनहिल तथा तातोपानीका कुण्डहरुमा प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ र विदेशी पर्यटकलाई प्रतिव्यक्ति १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
पालिकाले चालु आर्थिक वर्ष ०८०/८१ मा १ करोड ४७ लाख १० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । तर पालिकाले तीन वटा पर्यटकीय गन्तव्यको आय ठेक्का लगाउँदा वर्षको सुरु महिनामै १ करोड ३८ लाख ३१ हजार अग्रिम राजश्व जम्मा भएको जनाएको छ ।
वडा नम्बर ६ स्थित तातोपानी कुण्डमा प्रवेश गर्ने आन्तरिक तथा बाहृय पर्यटकबाट प्रवेश शुल्क उठाउन न्यूनतम वार्षिक ३ लाख तोकेर आय ठेक्का आहृवान भएपनि कसैले टेण्डर नहालेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले आम्दानीको मुख्य श्रोत नै पर्यटकीय गन्तब्य भएको वताए । ‘हाम्रो पालिकाको आन्तरिक राजश्वको प्रमुख स्रोत नै पर्यटकीय क्षेत्र हुन् । गत आवमा पालिकाले तातोपानी, पुनहिल, महरे, खोप्राजस्ता पर्यटकीय क्षेत्रबाट १ करोड ४५ लाख रुपैयाँ आन्तरिक राजश्व प्राप्त गरेको छ’ सुवेदीले भने, ‘पालिकाले संकलन गर्ने आन्तरिक राजश्वमध्ये ८० प्रतिशत बढी पर्यटन क्षेत्रको योगदान छ । चालु आर्थिक वर्षमा पनि पालिकाले लक्ष्यभन्दा बढी राजश्व प्राप्त हुने संकेत देखिएको छ ।’
गाउँपालिकाले गत आवमा रोयल्टी वापत पनि ७३ लाख प्राप्त गरेको छ । अन्नपूर्ण गाउँपालिकाले सबैभन्दा बढी विधुतबाट ६६ लाख, पर्यटनबाट ६ लाख र बाँकी वन, खानी समेतका क्षेत्रबाट १ लाख रोयल्टी पाएको थियो ।





