म्याग्दी बेनीको मंगला आमा समुहको भवनमा अल्लोको धागोबाट सल बुन्दै गरेकी नेकसरा पुन जिल्लाकै एक सफल महिला उद्यमीका हुन् । बेनपा–२ हाँडेभिरमा रहेको साझा सुविधा भवनलाई बधशालाले विस्थापित गरेपछि घर बाहेक अन्य उद्यमीसँगै आमा समुहको भवनमा भेटिएकी उनलाई नचिन्ने सायद कमै होलान् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानबाट करिब साढे दुई दशक अगाडी घरायसी खर्च चलाउन बेनीबजार ओर्लिएकी नेकसराले ढाका र अल्लोका उत्पादनलाई स्वदेश तथा विदेशमा विक्री गर्छिन । जिल्ला लघु उद्यमी संघ म्याग्दीकी अध्यक्ष समेत रहेकी उनले आफुँजस्तै धेरै सफल महिला उद्यमी बनाइसकेकी छन् । सिप, जाँगर र उद्यमीको परिचयमा रमाउने धेरै महिलाहरूले नेकसराको मेहनत र संघर्षलाई सम्झिरहन्छन् ।
पैतलादेखि शीरसम्म लगाउन मिल्ने कपडा, अर्डर अनुसारका उत्पादनका कारण देशैभरी रहेका धेरै उद्यमीले नेकसराको प्रशंसा गर्छन्। नेकसरा, राष्ट्रिय लघु उद्यमी महासंघकी केन्द्रिय उपाध्यक्ष दिलु घताने लगायतको पहलमा सञ्चालनम आएको साझा सुविधा भवनबाट महिलाहरू विस्थापित भएपनि नयाँ उद्यमीलाई स्थापित गर्न गरिएका प्रयासहरू सुन्दा र प्रत्यक्ष अवलोकन गर्दा निकै आनन्द आउँछ । बिहानदेखि बेलुकासम्म अल्लोको धागोको सहायतामा कपडा बनाउने नेकसराले समय बितेको पत्तै पाउँदैनन् । ‘यो पेशामा आवद्ध भएको हिजोजस्तो लाग्छ धेरै बर्ष वितिकेको छ’ नेकसराले भनिन् ।
आर्थिक रुपमा परिवारका सदस्यमा निर्भर हुने महिलाहरु अहिले आफ्नै उद्यमले घरखर्च चलाउनेदेखि रकम बचत समेत सफल भएका छन् । उद्यमी नकसराले पनि उत्पादन र बिक्रीबाट रहरलाग्दो आम्दानी गरिरहेको बताउँदै उद्यमीको उत्पादन खेर नजाने र उत्पादन अनुसारको बजार भएकाले आर्थिक रुपमा समेत आत्मनिर्भर हुने गरेको बताईन । विद्यालय उमेरबाटै तान बुन्न सिपालु नेकसराले अहिले उत्पादन गरेका साम्रागी बिक्रीका लाािग बजारको कुनै समस्या छैन् । अल्लोको कपडाबाट कोट, झोला, पर्स, टोपी, जुत्ता, मनी ब्याग, मोवाइल तथा ल्यापटप राख्ने झोलालगायत दैनिक जीवनमा मानिसलाई चाहिने सबै सामानहरु आकर्षक डिजाइन ग्राहकको रोजाईमा पर्छन् । अल्लोबाट उत्पादन गरेका सामानहरु बिक्रीबाटै वर्षमा झण्डै १० लाख रुपैयाँ बराबरको आम्दानी गर्ने गरेकी छन उद्यमी पुनले ।
महिनामै ५० देखि १ लाखसम्म आम्दानी हुन्छ। कोरोनाको पहिलो र दोस्रो लहरपछि उत्पादनको बिक्रीमा असर भएपनि उत्पादन अनुसारको आम्दानी भने भइरहेको बताईन् । अल्लोबाट उत्पादित कोट, झोला, गलबन्दी, जुत्ता, टोपीलगायत सामान नेपालको विभिन्न जिल्लाका साथै विदेशमा निर्यात हुन्छ । पछिल्लो समय अल्लाको कोटको माग अत्याधिक छ भने अहिले जाडो समयका लागि सलको माग धेरै रहेको उनले बताईन् । म्याग्दीबाट विभिन्न देशमा गएका म्याग्देलीहरुले अल्लोको उत्पादनलाई रुचाउने गरेकाले विदेशमा समेत कोशेलीको रुपमा लैजाने गरिएको छ । नेकसराले उत्पादनसँगै विभिन्न जिल्लामा पुगेर महिला उद्यमीलाई तालिम समेत दिने गरेकी छन् । बेनीमा अहिले अल्लोका १० जना, कटन ब्यागको १२ जना र ढाकाको १६ जना उद्यमीले उत्पादन गर्ने गरेका छन् ।
आफ्ने टे«निङ सेन्टर
घरायसी काम छोडेर अल्लो उद्यमी बनेकी नेकसराले अल्लो कपडा उत्पादन तथा टे«निङ सेन्टर समेत खोलेकी छिन् । त्यहाँबाट उत्पादीत अल्लोका लत्ताकपडा नेकसराले स्वदेश तथा विदेशमा र बेनीमा आयोजना हुने म्याग्दी महोत्सवमा समेत बेच्ने गरेकी छन् । महिला उद्यमी बनेपछि नेकसराको दैनिकी मात्रै फेरिएको छैन सिजनमा लाखभन्दा बढी आम्दानी समेत हुन्छ । उनले अल्लोबाट बुनेको सामग्रीमा ग्राहकलाई आर्कषित गरेको छ । उनले तालिमसँगै नयाँ उद्यमीलाई समेत निरन्तर सहयोग गर्ने गरेकी छन् । आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई नेकसराले उद्यमी बन्न प्रोत्साहन गर्ने गरेकी छन् । नेकसराको सहयोगमा महिला उद्यमी बनेकाहरु अहिले सफल उद्यमी बनेर राम्रो कमाइ गरिरहेका छन् । म्याग्दीमा करिव १४ सय उद्यमी छन् । तर, बजार अभावमा स्थानीयस्तरमा उत्पादित वस्तुले राम्रो मुल्य पाउन नसकेको अवस्थामा स्थानीय तहले समेत बजारीकरणमा सघाउनुपर्ने उद्यमी नेकसराको भनाई छ ।





