सडक पेटी खाली गर्न बागलुङ नगरपालिकाले चलाएको अभियानमा बागलुङ उद्योग वाणिज्य संघले असहमति जनाएको छ । बागलुङ नगरपालिकाले सडक पेटी खाली गर्ने नाममा व्यावसायि स्थलबाट सामान उठाएको संघले आरोप लगाएको छ ।
व्यवसायीक स्थलबाट जथाभावि सामान उठाउने, बलजफ्ती गर्ने गरेको भन्दै बागलुङ उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघका महासचिव ऋषिराम गौतमले विज्ञप्ति प्रकाशित गरी समान उठाउने काम तत्काल राक्न आग्रह गर्दै उद्यमी व्यवसायीहरुको पसलबाट उठाएका सामानहरु तत्काल सकुशल अवस्थामा विना सर्त फिर्ता गर्न माग गरेका छन् ।
यस्ता उद्यमी तथा व्यवसायीहरुको मनोवल गिर्ने गरी गरेको यस्ता कार्यको विरुद्धमा अन्दोलनमा उत्रने चेतावनीसहित विगतलाई स्मरण गर्न आग्रह गरिएको छ । नाकावन्दी, महाभुकम्प, कोभिड जस्ता प्रकोप तथा विपदले तहसनहस भएको निजी क्षेत्र सामान्य चलायमान हुन नपाउदै वर्तमान आवस्थामा आर्थिक मन्दीको प्रभावले पुनःथलिएको अवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याज, जरिवाना, हर्जनालगायतका शुल्कले व्यवसाय संचालन गर्न नसक्ने गरी धरासायी अवस्थामा पुगेको वर्तमान कठिन परिस्थीतिमा बागलुङ नगरपालिकाले स्थानिय उद्यमी, व्यवसायी जसले नेपालकै परिवेशमा सवैभन्दा बढी व्यावसायिक करको दर नगरपालिकालाई बुझाएको अवगत गराइएको छ ।
उद्यमी व्यवसायी संग सहकार्य गरी दीगो रुपमा व्यापार व्यवसाय गरी आर्थिक रुपमा अर्थतन्त्रमा सकारात्मक योगदान दिने गरी वातावरण निर्माण गर्नुपर्नेमा उल्टै व्यवासायीहरुको कार्यक्षेत्र, पसलमा नगरपालिकाले आफ्ना कर्मचारी, गाडीलगायतको शक्ति प्रदर्शन गरी व्यवसायीहरुको सामाजिक मान मर्यादामा आँच पु¥याउने, धम्काउने जस्ता अमानविय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।





